
पोखरा स्पोर्टस । गैरआवासीय नेपाली संघ (एनआरएनए–हङकङ)ले खेलकुदका विभिन्न संघसंस्थालाई स्वास्थ्य सामग्री (मास्क) वितरण गरेको छ ।

पोखरा रंगशालामा शनिबार बिहान एक कार्यक्रमबीच मास्क हस्तान्तरण गरिएको हो । एनआरएनए हङकङको सहयोगमा नेपाल भूतपूर्व खेलाडी मञ्चलाई १५ हजार थान, बगर भाई खलक पोखरालाई ६ हजार थान, खेलकुद पत्रकार मञ्च, गण्डकीलाई ३ हजार, कास्की जिल्ला फुटबल संघलाई १५ हजार, पश्चिमाञ्चल भलिबल संघलाई ६ हजार र क्षेत्रिय खेलकुदलाई ६ हजार थान मास्क वितरण गरेको हो ।
उक्त मास्क एनआरएनए अध्यक्ष रबिना थापा, महिला सचिव राधिका गुरुङ (टिका) र सहकोषाध्यक्ष अमृता थापा ‘कन्चन’ले हस्तान्तरण गरेका थिए ।
सो अवसरमा एनआरएनए हङकङकी निवर्तमान अध्यक्ष राधिका (टिका) गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोभिडको महामारीका बेलामा समेत आफ्नो मातृभुमीलाई सहयोग गर्दै आएको बताइन् । कोभिडको संक्रमणकालमा नेपाल विदामा बसेका नेपालीलाई विमान चार्टर गरेर भएपनि हङकङ पठाउन सफल भएको बताउँदै एनआरएनएकै प्रयासमा नेपालका ४५ भन्दा बढी जिल्लाका अस्पतालहरुमा १६० वटा अक्सिजन कन्सन्ट्रेटर मेशिन र १७ लाख १९ हजार मास्क वितरण गरेको गुरुङले बताइन् ।
कार्यक्रममा आफ्ना भनाई राख्दै एनआरएनएकी अध्यक्ष थापाले एनआरएनएका भावी सन्ततीहरुलाई खेलकुदमा जोड्न आग्रह गर्दै नेपाल र नेपालीलाई समस्यामा रहेको बेला गैर आवाशिय नेपालीहरुले सहयोग गर्दै आएको बताइन् ।
कार्यक्रममा एआरएनए अमेरिकाका नारायण थापा, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङ, कार्यकारी सदस्य दिल बहादुर गुरुङ, तारा माया थापा मगर लगायतको सहभागिता रहेको थियो ।
