
पोखरा, ३० असार । जोर्डनको राजधानी अम्मानमा आयोजना हुने वर्ल्ड तेक्वान्दो एशियाको बैठकमा सहभागीता जनाउन नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश सम्शेर राणाको नेतृत्वमा चार सदस्यिय नेपाली तेक्वान्दोको शिर्ष प्रतिनिधी मण्डल सोमबार त्यस तर्फ प्रस्थान गरेको छ ।
वर्ल्ड तेक्वान्दो एशियाको बैठकले आगामी वर्ष सन २०२० को मार्च २१ देखि २६ मा आयोजना हुने एशियन तेक्वान्दो आयोजनाका लागि आयोजक देश छनौट समेत गर्ने तयारी भइरहेको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङले जानकारी दिएका छन ।
उक्त प्रतियोगिता आयोजनागर्न नेपालका तर्फबाट आफ्नो प्रस्ताब पेश गर्ने अध्यक्ष गुरुङले जानकारी दिंदै यदि नेपालको प्रस्ताव सफल भएमा प्रतियोगिता गण्डकी प्रदेशको राजधानी पोखरामा गर्ने गरि तयारी भइरहेको बताएका छन ।
यदि पोखरामा उक्त प्रतियोगिता आयोजना भएमा एशियाका ४३ देशका करिब १ हजार ४ सय खेलाडी र अफिसियल पोखरा आउने र प्रतियोगिताले पोखरालाई अन्तर्राष्ट्रिय खेल पर्यटनको शहरमा चिनाउन समेत सहयोग पुग्ने अध्यक्ष गुरुङले बताए । ‘हामी यति बेला सबै नेपाली खेलप्रेमीको शुभेच्छा र शुभकामना लिएर जोर्डन जाँदैछौं आशा छ हाम्रो यो प्रयास सफल हुनेछ’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट उडनु अघि उनले भने ।
जोर्डनका लागि उडेका प्रतिनिधीमण्डलमा नेपाल तेक्वान्दो संघका महसचिब दिपराज गुरुङ लगाएत रहेका छन ।
