
पोखरा, ४ साउन । नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत खेल आयोजनाका दिन नजिकिंदै जाँदा खेलको संख्या थपिएपनि कुनै पनि भौतिक पूर्वाधारले पूर्णता नपाए पछि सबै चिन्तित बनेका छन ।
गण्डकी प्रदेशको राजधानी पोखरामा भारोत्तोलन, भलिबल, ह्याण्डबल, आर्चरी, प्याराग्लाइडिङ, ट्रायथलन र महिला फुटबल हुनेछन । तर ति खेल मध्ये कुनै पनि खेलका पूर्वाधार पूर्णरुपमा तयार छैनन । यस अघि पोखरामा ६ खेल हुने भनिएको थियो । अन्तिम अवस्थामा भारोत्तोलन थपिएको हो । तर परिषदले समयमा बजेट निकासा नदिने र ति पूर्वाधारको काम कसरी सक्ने भन्ने बारे टुँगो नलगाउँदा सागका भौतिक पूर्वाधार सबै अलपत्र बनेका छन ।
सोही विषयलाई लिएर शनिबार पोखरामा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङको सक्रिएतामा एक भेला सम्पन्न भएको छ । उक्त भेलाले यथासिघ्र साग सचिबालय गठन गरि सोको मातहतमा सम्पूर्ण कामको जिम्मेबारी दिने निर्णय गरेको छ ।
आगामी २०७६ मंसिर १५ देखि शुरु हुन साग खेलको समय करिब ४ महिना बाँकी छ । खेल पूर्वाधार संगै प्रशिक्षणका लागि अलग–अलग खेल मैदन पनि आवश्यक देखिन्छ । यसका लागि भेलाले फुटबलका लागि विजयपुरको पृतना ब्यारेकको खेल मैदान, गोस्ते घाट खेल मैदान, गण्डकी प्रदेश प्रहरीको खेल मैदान, दोविल्ला स्थित सहारा एकेडेमीको खेल मैदान र पृथ्वी नारायण क्याम्पसको खेल मैदान प्रयोग गर्ने गरि ति खेलमैदानमा समेत आवश्यक मर्मत सम्भारका लागि यथासिघ्र पहल गर्न परिषदलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।
भेलामा अधिकांश सहभागिले सम्पूर्ण कामको जिम्मा लिएको राष्ट्रिय खेलकुद परिषदले पोखरामा समयमा भौतिक पूर्वाधारका काम सक्न र पोखरामा गर्ने भनिएका सबै खेलहरु सफलतापूर्वक सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने धारणा राखे । साग उद्घाटनका लागि सांस्कृतिक कार्यक्रम, शुरक्षा लगाएत अन्य कुरामा समेत सबैले चासो दिएका थिए । सहभागिहरुले सबै भौतिक पूर्वाधारको काम फाष्ट ट्रयाकमा सक्न र रंगशाला परिशरमा शौचालय, व्यवस्थित पार्किङ, सडक, बत्तीको ब्यवस्थापन यथासिघ गर्नुपर्ने बताएका थिए ।
केहीले आफ्नो धारणा राख्ने क्रममा पोखरामा यस्तै प्रकारले भौतिक पूर्वाधार बन्ने हो भने प्याराग्लाइडिङ र ट्रायथलन बाहेक अन्य खेल सम्भवनै नहुने बताए । भेलामा एक सहभागिले भने–‘अन्तिम अवस्थामा परिषदले समय अभाव भन्दै सबै खेल राजधानी केन्द्रित गर्न सक्छ त्यसका लागि पोखरेली र सरोकारवालाहरु सचेत हुनु आवश्यक छ ।’
सम्पन्न भेलामा नेपाल हयाण्डबल संघका अध्यक्ष तेज गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठ, कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङ, लगाएत विभिन्न खेलकुद संघका पदाधिकारी, प्रशिक्षकहरु र अन्य खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।
