
पोखरा स्पोर्टस । थाईल्याण्डको राजधानी बैंककमा जारी एएसबीसी एसियन यु २२ मेन्स एण्ड उमन्स बक्सिङ्ग प्रतियोगिताको महिलातर्फ शुस्माले नेपालका लागि ऐतिहासिक जित दर्ता गरेकी छन् ।

आइतबार सम्पन्न मिनिमम वेट ४८ किलो तौल समुहमा भएको सेमिफाईनल खेलमा मंगोलियाका प्रतिद्वन्दि बेस्येन्वेई जर्नागुलीलाई तेस्रो राउण्डमा रेफ्रि स्टोप कन्टेस्ट (आरएससी) को आधारमा पराजित गरेकी हुन् । उनले अब फाईनलमा उज्वेकिस्तानका खेलाडी फोजिलोभा फरजोनासंग फाईनलमा भेट पक्का गरेकी छन् ।
उज्वेक खेलाडी फोजिलोभाले आयोजक राष्ट्र थाईल्याण्डका खेलाडी योद्वारी थिप्सात्चालाई ५ः० को अंकको आधारमा पराजित गरेकी छन ।
सुस्माले जितेको उक्त पदक नेपाल बक्सिंग संघको स्थापनाकाल देखि हालसम्म सबैभन्दा उच्च स्थानमा रहेको छ । यस अघि नेपालले एशियनस्तरमा कास्य पदकसम्म नै सिमित रहेको थियो ।
२०२१मा पोल्याण्डमा सम्पन्न भएको विश्व युथ उमन बक्सिग च्याम्पियनशिपमा पनि सुस्माले लिथुयानीका खेलाडीलाई पराजितगरी क्वाटरफाईनलसम्मको यात्रा तय गर्दै विश्व वरीयतामा छैठो स्थानमा पुग्न सफल रहेकि थिईन ।
त्यसै गरी उमन फेदर वैट ५७ किलो तौल समुहमा आज भएको अर्को खेलमा भने नेपालका हेमा राई मंगोलियाका बत्तुर जोल्जारगलसंग ५ः० अंकको आधारमा पराजय भोग्दै कास्य पदकमै सिमित बनिन् । यस अघि हेमा राईले सिंगापुरका खेलाडीलाई ५ः० अंकको आधारमा पराजित गर्दै सेमिफाईनलसम्मको यात्रा तय गर्न सफल रहेकी थिईन ।
