
केशब पाठक,
पोखरा १, साउन । पोखरा फूटबल स्टेडियम निर्माण सम्पन्न गर्न निर्माण कम्पनीले कार्तिकको दोश्रो हप्ता सम्म समय मागेकोे यूवा तथा खेलकुद मन्त्रि जगत विश्वकर्माले बताएका छन ।

राष्ट्रिय खेलकुद परिषदमा रमेश कुमार शिलवाल नियूक्त भए पछि पोखराको निरिक्षणमा पहिलो पटक आएका शिलवालले मैदान प्राकितिक बनाउन र समयमा सक्न निर्माण कम्पनीलाई दवाव दिदैं समस्याका बारेमा छलफल गर्न आजको बैठक बोलाएका हुन । पोखरा फुटबल स्टेडियम निर्माणको लागि भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एमए कन्ट्रक्सन जवलाखेल ललितपुरसँग सम्झौता गरेको थियो ।
निर्माण कम्पनीले छिटो काम सक्न स्टेडियममा अर्टिफिसियलको (एष्ट्रोटफ) खेल मैदान गरि धमाधम काम सुरु गरेको थियो । कम्पनीले गिटी ओच्छ्याएर एष्ट्रेटफ राख्ने तयारी गरिरहेकै बखत नवनियूक्त सदस्य सचिब सिलवाल मैदानको निरिक्षण पछि यसको विपक्षीमा उभिएका थिए । उनले कुनै पनि हालतमा मैदान प्राकृतिकनै बनाउनु पर्ने भन्दै कम्पनीलाई सम्पूर्ण कामको विवरण सहित बैठकमा आउन भनेका थिए ।

काठमाडौं सिंहदरवार स्थित यूवा तथा खेलकुद मन्त्रालयमा करिब तिन घन्टा सम्म चलेको बैठकमा निर्माण कम्पनीले काम सक्ने म्याद साउनको अन्तिम तोकिएपनि प्राविधिक कारणले कार्तिक १५ गते सम्मलाई सक्ने गरि समय मागेको मन्त्रि विश्वकर्माले बताए । ‘बैठकमा कम्पनीले कार्तिकको १५ गते सम्म म्याद मागेको छ, तोकिएको समयमा काम सक्नुपर्छ ।’
मन्त्रि विश्वकर्माले आफूले रंगशाला शिलान्यासको सम्यमा नै १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि साउन मसान्त सम्म काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिएको बताउँदै उनले भने–‘केही समस्या भए कुरा गर्न भनेको कम्पनीका प्रतिनिधीहरुलाई स्मरण गराएको समेत थिंए, तर उनीहरुले यस बारे अहिले सम्म किन चासो देखाएनन, यस बारे मैले उनीहरुलाई प्रश्न समेत गरेको छु ।’

रंगशाला खेल मैदान प्राकृतिकनै बनाउने पर्ने बैठकमा आफूले कुरा उठाएको मन्त्रि विश्वकर्माले बताए । ‘मैले जिरो पोइन्ट बाटनै रंगशाला प्राकृतिक बनाउन पर्छ भनेको थिंए एक्कासी यो अर्टिफिसियलको (एष्ट्रोटफ) कुरा कता बाट आयो मलाई थाहा भएन’ मन्त्रि विश्वकर्माले भने–‘पोखराको रंगशाला प्राकृतिकनै बन्नु पर्छ र साग खेलकुदलाई कुनै अवरोध आउन पनि दिन हुन्न समयमा सक्नु पर्छ ।’
राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले बैठकपछि कुरा गर्दै पोखरा रंगशाला मैदान प्राकृतिक नै हुनु पर्ने कुरामा सहमती भएको बताएका छन । ‘सबै कुरा निष्कर्षमा त पुगेको छैन तर शुक्रबार यस बारे छलफल हुन्छ’ उनले भने । ‘मैदान आर्टिफिसियल नबाउने निर्णय गरी टुग्याईयो तर डिजाईनको फाईनल शुक्रबार हुनेछ ।’ आगामी शुक्रबार यस बारे बैठक बसेर डिजाईन फाईनल गरिने छ ।
बैठक पछि कुरा गर्दै निर्माण कम्पनीका तर्फ बाट हरिबाबु न्यौपानेले छलफल सकारत्मक र उत्साहजनक रहेको बताए । ‘निर्माणको सन्दर्भमा केही समस्या देखा परेका छन, परिषदले समयमा टुङ्गाएमा काम पनि तोकिएको समयमा नै सक्न कुनै अप्ठ्यारो छैन’ न्यौपानेले भने–‘जति छिटो निर्णय हुन्छ त्यती छिटो काम हुन्छ ।’ परिषदले निर्माण कम्पनीलाई प्यारापिटसहित ट्रयाक एण्ड फिल्ड बनाउन ठेक्का दिएको थियो । तर उनले डिजाइनमा ढिलाई हुँदा काममा केही अवरोध सिर्जना भएको बताए ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार शिलवाल, एन्फाका प्रतिनिधी लगाएतको बैठकमा उपस्थिती रहेको थियो ।
तस्बिरः सुदर्शन रंजित
