
पोखरा, २९ असार । सहारा क्लब पोखराको भातृ संस्था सहारा अष्ट्रेलियाले ‘सहारा अष्ट्रेलिया कप’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
गत वर्ष बाट फुटबल प्रतियोगिता आयोजनागर्न थालेको सहारा अष्ट्रेलियाले यस वर्ष भने आहा रारा गोल्ड कपको ‘फर्मेट’ मा प्रतियोगिता गर्न लागेको अध्यक्ष राजमान थकालीले जानकारी दिएका छन ।

अष्ट्रेलियाको सिडनीमा यहि वर्षको अगष्ट १८ बाट शुरु हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहने अध्यक्ष थकालीले जानकारी दिएका छन । ‘सिडनी करिब ३० फुटबल टिम रहे पनि वेष्ट अफ दि वेष्टका आधारमा हामीले १६ टिमलाई सहभागिता गराएका छौं’ उनले भने–‘हरेक विदाको दिन पारेर आइतबार प्रतियोगिता नक आउटका आधारमा संचालन हुनेछ ।’
सहभागी १६ टिमलाई दुई समुहमा विभाजन गरेर संचालन हुने प्रतियोगितामा नक आउट चरणका खेलहरु फाइभ स्पोर्ट्स क्यारिनागको खेल मैदानमा संचालन हुनेछ भने फाइनल खेल फ्राजर पार्क फुटबल क्लबको मैदानमा हुनेभएको छ ।
प्रतियोगिताको विजेताले ट्रफी सहित नगद दुई हजार अष्ट्रेलियन डलर र उपबिजेताले एक हजार डलर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
सहारा अष्ट्रेलियाका अध्यक्ष थकालीले प्रतियोगिताको आयोजनाको मुख्य उद्धेश्यका बारेमा प्रष्ट पार्दै सहारा क्लब पोखरा, सहारा, यूके र सहारा हङकङ जस्तै सहारा अष्ट्रेलियालाई समेत फुटबल बिकास गर्ने संस्थाका रुपमा स्थापित गर्न भूमिका खेल्ने बताए ।
यो प्रतियोगिता बाट उत्कृष्ट खेलाडी छनौट गरि आहा रारा गोल्डकपको १८ औं संस्करणमा अष्ट्रेलिया बाट सहभागिता गराउने अध्यक्ष थकालीले जनाएका छन ।
प्रतियोगितामा सहारा एफसी, सगरमाथा फुटबल क्लब, दि राइजिङ गोर्खा, हिमालयन यूथ क्लब, माछापुच्छ्रे एफसी, एफसी डाँफे, अन्र्सबी एफसी, सिडनी नेप्लिज फुटबल क्लब, बेनी एफसी, दि बिग्रेड क्लब, था से सा एफसी, तामाङ रिक्रिएशनल क्लब, सेन्ट जर्ज नेप्लिज क्लब, सेन्ट जर्ज फ्रेण्डस एफसी, क्याम्सी फुटबल क्लब र क्लब नेपालको सहभागिता रहनेछ ।
सहारा अष्ट्रेलिया आहा रारा गोल्डकप फुटबल प्रयिोगितामा दोश्रो पुरुस्कारको प्रायोजक समेत हो ।
