
पोखरा, २४ असार । मित्र राष्ट थाईल्याण्डको बैककमा आयोजना हुने थाईल्याण्ड खुल्ला कराते च्याम्पियनसिपमा सहभागि हुन जाने नेपाली टोलीलाई विदाई गरिएको छ ।
आषाढ २५ देखि २९ गते सम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागि हुन जाने नेपाली टोलीको नेतृत्व खेलकुद बिज्ञान प्रतिष्ठानका उपनिर्देशक तुलसी कुमार महर्जनले गर्ने छन् । प्रशिक्षकमा रामकृष्ण खड्गी रहेका छन् ।
यस्तै एशियन प्यासिफिक कराते रेफ्रि रविन्द्र मानन्धरले निर्णायकको भूमिका निर्वाह गर्ने छन् । टोलीमा खेलकुद बिज्ञान प्रतिष्ठानकी सहलेखापाल ईरा कार्की पनि रहेकी छिन् । मन्टि कुमार मंडलले ब्यवस्थापकको रुपमा टिममा छन् ।
च्याम्पियनसिपमा सहभागि हुन जाने खेलाडीहरुमा विमला नेपाली (ब्यक्तिगत काता), अनिष लामा (सिनियर कुमिते), राजकुमार श्रेष्ठ (सिनियर काता) र दीपक बि.क. (काता र कुमिते) रहेका छन् । यस्तै संजु देशार (यु १४ काता र कुमिते), रश्मि पाण्डे (कुमिते), कुशुम तामाड (कुमिते र काता), ऋषभ राज गिरी (जुनियर कुमिते), सूर्य बिक्रम भण्डारी (क्याडेट कुमिते) तथा अश्मिता राई (कुमिते) रहेका छन् । अश्मिता राष्टिय टिममा परेकी खेलाडी हुन् ।
टिमहरुलाई शुभकामना सहित बिदाई गर्दै नेपाल खेलकुद बिज्ञान प्रतिष्ठानका निर्देशक उप्रेतीले सानका खेलाडीहरुले विगतमा पनि मुम्बईमा आयोजना भएको कराते च्याम्पियनसिपमा टिम च्याम्पियन तथा थाईल्याण्डमानै भएको च्याम्पियनसिपमा उच्च प्रर्दशन गर्दै राष्ट्रको नाम उच्च राख्न सफल भएको भन्दै ईतिहास दोहोराउनेमा आफु बिश्वस्त रहेको बताए । उनले खेलाडीहरुले अनुशासनमा रहेर प्रतिस्पर्धा गर्न र खेलाडीहरुलाई अनुशासनमा राख्न प्रशिक्षक तथा टिम लिडरलाई निर्देशन दिए ।
टोलीलाई राखेप खेलकुद बिज्ञान प्रतिष्ठानका निर्देशक नविन उप्रेतीले बिदाई गरे ।
