
पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटी र कामरु ट्रेडिङ बीच शुक्रबार प्रायोजनको सम्झौता भएको छ ।

सम्झौता अनुसार नेपालमा केल्मीको आधिकारिक विक्रेता कामरुले टोकियो ओलम्पिक २०२० मा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक र पदाधिकारीलाई सबै पोशाक प्रायोजन गर्नेछ ।

प्रायोजनको सम्झौतामा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र कामरुका निर्देशक प्रदीप न्यौपानले हस्ताक्षर गरेका छन । त्यस अवसरमा अध्यक्ष श्रेष्ठले नेपाली खेलकुद र नीजि क्षेत्रबीच सहकार्य र साझेदारी आवश्यक रहेकोमा जोड दिनु हुँदै कामरुस“गको अनुबन्ध भविष्यमा दीर्घकालीन हुने विश्वास व्यक्त गरे ।
यस्तै कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले कामरुस“गको अनुबन्ध सुरुआत मात्र रहेको बताए । यस्तै कामरुका निर्देशक न्यौपानेले टोकियो ओलम्पिकमा सहभागी हुने टोलीको पोषाक प्रायोजन गर्न पाएकोमा खुसी भएको बताए ।
कार्यक्रमका अवसरमा कमिटीका सदस्य तथा मार्केटिङ एन्ड स्पोनसर कमिटीका संयोजक गोपाल कक्षपतिले नेपाली खेलकुदका विकासका लागि यस प्रकारको प्रायोजन बढाउनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा कमिटीका महासचिव श्री निलेन्द्र राज श्रेष्ठ र सचिव दीपकहर्ष वज्राचार्यको पनि उपस्थिति रहेको थियो ।
