
क्रिकेट स्टेडियमका लागि ३ करोड र पौडी पोखरीलाई २ करोड ५० लाख, हाइ अल्टिच्यूडका लागि ५० लाख, पोखरा स्पोर्ट्स अर्वाड र पोखरा म्याराथनलाई ३/३ लाख, अन्नपुर्ण म्याराथनलाई ५ लाख !
केशब पाठक,
पोखरा, ३१ जेठ । नेपाल सरकार अर्थ मन्त्रालयले कास्की जिल्ला भित्र विभिन्न खेलकुद नयाँ पूर्वाद्धार निर्माण गर्न र निर्माण जारी रहेका केही खेलकुद पूर्वाद्धार पुरा गर्न २१ करोड २५ लाख बजेट बिनियोजित गरेको छ ।
यूवा तथा खेलकुद मन्त्रालयले अर्थ मन्त्रालयमा पेस गरेको बजेट अन्तर्गत आब २०७६/०७७ मा गण्डकी प्रदेशका लागि खेलकुदमा यति ठूलो रकम पहिलो पटक बिनियोजित भएको हो । यूवा तथा खेलकुद मन्त्रालय द्वारा प्रस्तावित बजेटमा गण्डकी प्रदेश विशेष गरि पोखरा रंगशाला भित्र १३ औं दक्षिण एशियाली खेलकुद (साग) लाई लक्षित गरि बजेट ल्याइएको हो ।
बजेट बारे कुरा गर्दै यूवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्माले नेपालको खेलकुद बिकासमा रहेका समस्या, चुनौती र अभिभाराहरु सम्वोधन गर्ने गरि बजेटले दिशा निर्देश गरेको बताए । ‘हामी यती बेला १३ औं सागको पूर्वाद्धार निर्माण गर्ने फेजमा छौं र यो काम हाम्रो पहिलो हो भने त्यस बाहेक अन्य खेलकुदका पूर्वाद्धारहरु पनि निर्माण गर्ने गरि बजेटमा समावेश गरेका छौं’ मन्त्रि विश्वकर्माले भने–‘खेलकुद बजेटले समग्रमा नेपाली खेलकुदको शिर्षकलाई बोलेको छ ।’
पोखरा रंगशाला भित्र लामो समय देखि निर्माणाधिन अवस्थामा रहेको क्रिकेट स्टेडियम निर्माण गर्न ३ करोड र लामो समय देखि पर्खाईमा रहेको पौडी पोखरी निर्माणका लागि २ करोड ५० लाख बजेट बिनियोजित गरिएको छ भने घान्द्रुक स्थित हाई अल्टिच्यूड खेल मैदानका लागि ५० लाख बिनियोजित गरिएको छ ।
त्यसै गरि पोखरा रंगशाला भित्र शुटिङ हल निर्माण गर्न ५० लाख, पोखरा महानगर पालिका २३ बाम्दीमा भलिबल खेल मैदान निर्माण गर्न ५० लाख छुट्टाइएको छ । बाम्दीको यो भलिबल खेलमैदान साग प्रेक्टिस भेन्यूको रुपमा रहनेछ । साग प्रेक्टिस भेन्यूको रुपमा रहेको गौरी शंकर खेल मैदानका लागि समेत १ करोड बजेट निर्धारण गरिएको छ ।
पोखरा रंगशाला भित्र निर्माणाधिन अवस्थामा रहेको लन टेनिस कोर्ट निर्माण पुरा गर्न १ करोड बजेट निर्धारण गरिएको छ । यो खेल स्थल समेत बजेटमा साग प्रेक्टिस भेन्यूको रुपमा राखिएको छ । पोखरा रंगशाला भित्र प्यारापिट सहित हार्ड कोर्ट निर्माण बजेट अभावमा अलपत्र परिरहेको थियो ।
पोखरा १९ स्थित लामाचौर फुटबल मैदानका लागि यस पटक बजेटमा १ करोड बिनियोजित गरिएकोे छ । १३ औं सागको महिला फुटबल पोखरामा हुने भएकोले उक्त मैदान प्रेक्टिस भेन्यूको रुपमा रहेको रहनेछ । उक्त खेल मैदानमा भिआइपी प्यारापिट सहित चेन्जिङ रुम निर्माण अघि बढाइने छ । यसै गरि पोखरा रंगशाला भित्र निर्मााणधिन अन्तर्राष्ट्रिय स्तरको व्याडमिन्टन कर्भडहल निर्माण सम्पन्न गर्न ५० लाख परेको छ ।
पोखरा रंगशाला भित्र निर्माण शुरु भएको फुटबल प्यारापिटका लागि ५ करोड बजेट मात्रै विनियोजित गरिएको छ । इन बिल्ड डिजाइन अन्तर्गत निर्माण भइरहेको पोखरा रंगशाला फुटबल स्टेडियमको डिजाइन बन्न ढिलाई भएकोले काम भने दुई महिना पछि धकेलिएको छ ।
यसै गरि पोखरा रंगशाला भित्र लामो समय देखि अलपत्र अवस्थामा रहेको बहुउद्धेश्यिय कभर्डहल भित्रको काम सम्पन्न गर्न ५ करोड बजेट मन्त्रलायले प्रस्तावित गरेको छ । उक्त ५ करोड दर्शकदिर्घाको कुर्ची, साउण्ड सिष्टम, इन्टरनल फिनिसिङ र ल्याण्डस्केपका लागि उक्त रकम छुट्टिएको होे ।
पोखरा रंगशाला भित्र रहेको ह्याण्डबल एकेडेमीका लागि मन्त्रालयले ५० लाख बजेट बिनियोजित भएको छ । उक्त ह्याण्डबल कोर्ट सागका लागि प्रेक्टिस भेन्यूको रुपमा रहेको छ । पोखरा भण्डारढिकको फुटबल रंगशालाको लागि २५ लाख बजेट बिनियोजित भएको छ ।
यसै गरि पोखरा स्पोर्ट्स अर्वाडका लागि ३ लाख र पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि समेत खेलुकद अन्तर्गत बजेट बिनियोजित गरिएको छ ।
तस्बिरः शुदर्सन रंजित
