पोखरेली मञ्च यूकेलाई क्रिकेटको रन्को, उत्कृष्ट खेलाडीले नेपाली टिम संग खेल्ने मौका

पोखरा, ३२ जेठ । पोखरेली मञ्च युकेले चौथो संस्करणको “पीपल नेपाल कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता” आयोजना गर्ने भएको छ । बेलायत स्थित रेडिङस्थित रेडिङ्ग क्रिकेट एण्ड हक्की क्लबमा आगामी २०१९ जुलाईको १४ देखि २१ सम्म उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

मञ्चले यूके फार्नबोरो नर्थक्याम्पस्थित पीपल मोर्गेजेज् एण्ड स्टेट एजेन्ट्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा गरि प्रतियोगिता बारे जानकारी गराएको हो । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले नेपालको राष्ट्रिय टिम संग खेल्ने मौका प्रदान गरिने आयोजकले जनाएको छ ।

नकआउटका आधारमा संचालन हुने प्रतियोगितामा ८ टिमले प्रतिष्पर्धा गर्ने भएका छन । तर प्रतियोगितामा सहभागिताका लागि १२ टिमले नाम दर्ता गराएको मञ्चका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक करम गुरुङले जानकारी दिएका छन । शुरक्षालाई समेत बिशेष ध्यान दिइएको सो खेलमा विन्चेस्टर क्रिकेट क्लब, नवयुवा टिम, रमाईलो क्रिकेट क्लव, हन्स्लो क्रिकेट क्लव, मिड्ल्याण्ड क्रिकेट क्लव र क्यूजी सिग्नल क्रिकेट क्लवले भाग लिने भएका छन ।

प्रतियोगिता सम्पन्न गर्नका लागि पीपल मोर्गेजेज् एण्ड स्टेट एजेन्टस्ले मुख्य प्रायोजनको गर्ने भएको मञ्चले जनाएको छ । उक्त कम्पनीले १००० पाउण्ड प्रायोजन वापत मञ्चलाई प्रदान गर्ने भएको हो । प्रतियोगितामा प्रथम हुने टिमले नगद पुरुस्कार ८०० पाउण्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ । उक्त पुरुस्कारको प्रायोजन बगर भाइखलक युकेका अध्यक्ष चन्द्रमान गुरुङ र सदस्यहरुले गर्ने भएका छन । त्यसै गरि दोस्रो पुरस्कार नगद ५०० पाउण्ड, मेडल र प्रमाणपत्र सिटी एक्सप्रेस मनी ट्रान्सफर लिमिटेडले प्रायोजन गर्ने छ ।

करीब ५०० जना दर्शकको उपस्थिति रहने अपेक्षा राखिएको प्रतियोगिताका स्टार अफ दि टुर्नामेन्टलाई नमस्कार इभेन्ट तथा आश्विन श्रेष्ठले १५० पाउण्ड, मेडल र प्रमाणपत्र प्रायोजन गर्ने भएको छ । त्यस्तै, वेष्ट बलरलाई १०० पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र र डि एण्ड जे हिटिङ्ग सर्भिसेस्का धनु थकाली तथा जगन गुरुङले वेष्ट व्याटमेनलाई १०० पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र प्रायोजन गर्ने संयोजक गुरुङले जानकारी दिए । मञ्चले चौंथोपटक आयोजना गर्न लागेको प्रतियोगितामा राफल ड्र समेत खेलाईने छ । उक्त राफल ड्र विजेतालाई एकतोला सुन उपहार समेत राखिएको आयोजकले जनाएको छ ।

टिम दर्ता शुल्क १५० पाउण्ड उठाइएको उक्त प्रतियोगितामा साधारणतर्फ प्रवेश निःशुल्क गरिने र भिआईपीतर्फ भने खानासहित २५ पाउण्ड तोकिएको जानकारी दिए । नेपाली पत्रकारहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा पत्रकारहरुले राखेका जिज्ञासालाई उपाध्यक्ष एवं संयोजक गुरुङ, अध्यक्ष मानप्रसाद गुरुङ र उपाध्यक्ष वाचस्पति रेग्मीले मेटाउने प्रयास गरेका थिए ।

उक्त खेल उद्घाटनका लागि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र समापनका लागि एनआरएनए युके अध्यक्ष योगकुमार फगामीलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिसकिएको आयोजकले जानकारी गराएको छ । त्यस्तै, खेलाडि, आयोजक र दर्शकहरुको सुविधाका लागि अल्डरसटस्थित मोमो स्टेशनले फुड स्टल राख्ने छ । पत्रकार सम्मेलनमा मुख्य प्रायोजक पीपल गु्रपका डाईरेक्टर सूर्यप्रकाश गुरुङले एकअर्कामा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिदैं शुभकामना दिए ।

त्यस्तै, मञ्चका संस्थापक अध्यक्ष क्याप्टेन सिबी पुन, सल्लाहकार महेश गुरुङ, मोमो स्टेशनका अमित गुरुङ लगायतले समेत शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा मञ्चका अध्यक्ष मान प्रसाद गुरुङले प्रतियोगिताको आयोजनाले खेलाडिहरुको क्षमतामा बिकास, एकअर्कामा चिनजान हुने मात्र नभई सम्वन्ध र एकता बिकासमा समेत टेवा पुग्ने बताए । त्यस्तै, उनले मञ्चले गत बर्ष जस्तै यसबर्ष पनि आगामी अगष्टको २, ३ र ४ तारिकका दिन वेल्समा हाईक फर नेपालको आयोजना गर्न लागेको समेत जानकारी गराए । साथै, उनले उक्त दुवै दिन उपस्थित भई खेलाडिहरुलाई हौसला प्रदान गरिदिन सम्पुर्ण बेलायतवासी नेपालीहरुमा अनुरोध गरे ।

मञ्चका अध्यक्ष अध्यक्ष मान प्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा उपाध्यक्ष एवं कार्यक्रम संयोजक करम गुरुङले स्वागत मन्तब्य दिएका थिए भने उपाध्यक्ष बाचस्पति रेग्मीले कार्यक्रम संचालन गरेका थिए ।

स्मरिणय के छ भने पोखरेली मंच यूके १३ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सहयोगी समेत रहेको थियो ।
साभारः एभरेष्ट टाइम्स/ पुर्ण गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close