
पोखरा, ७ जेठ । सन २००३ बाट तमु धिं यूकेले बेलायतमा निरन्तर रुपमा आयोजना गर्ने फ्ुटबलको महाकुम्भ गोर्खा कपको १७ औं संस्करणको अन्तिम तयारी सम्पन्न भएको जनाएको छ ।
नेपाली समुदायमा अत्यन्तै लोकप्रिय र सबैको लागि चासो रहने गोर्खा कप यहि जेठ १२ गते अर्थात मे २६ मा हुने प्रतियोगिता बारे आयोजक तमु धिं यूकेले पत्रकार सम्मेलन गरि सम्पूर्ण तयारी प्ुरा भएको जनाएको हो ।
अल्डरसट स्थित क्वीन्स एभिन्यू खेल मैदानमा हुने १७ औं संस्करणमा ३२ यूवा र १० भेट्रान गरि कूल ४२ टिम बीच प्रतिष्पर्धा गर्ने भएका छन । प्रतियोगितामा सहभागिताका लागि होल्याण्ड, आइसल्याण्ड, बेल्जियम, आयरल्याण्ड र हङकङबाट समेत नेपाली टिम लण्डन जाने भएका छन ।
प्रतियोगिताको यूवाको मुख्य प्रतिष्पर्धा तर्फ बिजेता टिमले २५ सय पाउण्ड र उपबिजेताले १५ सय पाउण्ड नगदका साथमा ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै, भेट्रान तर्फ बिजेता टिमले १२ सय पाउण्ड र उपबिजेताले ८०० पाउण्ड नगदका साथमा ट्रफी र प्रमाणपत्र पाउने आयोजक तमुधिं युकेका खेलकुद सचिव एवं प्रतियोगिता संयोजक क्याप्टेन पिताम्बर गुरुङले जानकारी दिएका छन ।
प्रतियोगितामा उच्च स्कोरर तथा उत्कृष्ट हुने खेलाडीले आर्कषक पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता संचालन गर्न करिब ४५ हजार पाउण्ड खर्च लाग्ने अनुमान गरिएको छ ।
तमुधिं यूकेका अध्यक्ष नन्दजङ्ग गुरुङले गोर्खा कप दशौं कार्यसमितिको पहिलो कार्यक्रम रहेको जानकारी गराउदै सबैको साथ र सहयोगको अपेक्षा राखेका छन । गोर्खा कपकै कारण नेपाली युवाहरुको खेलप्रति आर्कषण बढ्दै गएको र कतिपय खेलाडीहरुले अबसर समेत पाएको बताउँदै अध्यक्ष गुरुङले भने–‘प्रतियोगिताबाट नेपाली कला र संस्कृतिको समेत प्रवद्र्धन भएको छ ।’
रस्मोर बरो काउन्सिलकी नवनियुक्त मेयर सु कार्टरको प्रमुख आतिथ्यमा सम्पन्न हुन लागेको कार्यक्रममा नेपाली राजदूतावास लण्डनका उपनियोग प्रमुख शरदराज आरन, स्थानीय अधिकारी, प्रहरी, ब्रिगेड अफ गोर्खाजका अधिकारीहरुको बिशेष उपस्थिति रहने छ । करीब २ सय २० जना आगन्तुकहरुलाई आमान्त्रण गरिएको सो कार्यक्रममा ‘एफ ए’ लिगका अधिकारीको समेत बिशेष उपस्थिति हुनेछन भने गतबर्ष झै यसबर्ष पनि ‘एफ ए’ कपको बिशेष प्रर्दशन गरिने छ ।
कार्यक्रम स्थलमा स्वास्थ्य तथा सुरक्षालाई विशेष प्राथमिकता दिइएको छ भने ५० वटा सेक्युरिटटी अफिसर, ३० जना ट्राफिक मार्शल र २० जना स्वयंसेवक गरी करिब १०० जना सुरक्षाका लागि आन्तरिक व्यवस्था गरिएको छ । साथै स्थानीय प्रहरीले समेत बिशेष निगरानी राख्ने भएको छ । त्यस्तै, आपतकालिन अवस्थाका लागि हेलिप्याड, मेडिकल समूह, फायर सेफ्टी गु्रप र इमेरजेन्सी द्वारको समेत व्यवस्था मिलाईएको छ ।
करिब ७ हजार देखि १० हजार दर्शकहरुको उपस्थिति हुने अपेक्षा गरिएको छ । त्यस्तै, आयोजना स्थलमा १० वटा रेष्टुरेण्ट, ४० वटा हस्तकला तथा व्यापारीक स्टल र केही स्वयंसेवक स्टलहरु रहने छन् । सो प्रतियोगिताबाट वचत रकम तमु धिं यूकेले परोपकारी क्षेत्रमा सहयोग गर्दै आएको छ । यसपटक गोर्खा वेलफेयर ट्रष्ट र रस्मोर बरो काउन्सिललाई सहयोग गरिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा तमुधिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्वअध्यक्ष कमल गुरुङ, पूर्वअध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ, निवर्तमान अध्यक्ष ज्ञाम गुरुङ, तमुधिं आमा समूह लगायत सल्लाहकार, शुभचिन्तक र कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।
तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङले स्वागत मन्तब्य दिएका थिए भने महासचिव तुलाराम गुरुङले कार्यक्रम संचालन गरेका थिए ।
मिलन तमुको सहयोगमा
