
पोखरा, ४ जेठ । खेलेर मात्रै नभई मनोबैज्ञानिक रुपमा सक्षम र भविष्यका लागि उत्कृष्ट राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य सहित राष्ट्रिय खेलकुद विज्ञान प्रतिष्ठान (सान) पश्चिमाञ्चल क्षेत्रिय प्रशिक्षण विभागले पोखरामा साता व्यापी रुपमा प्रशिक्षण कार्यक्रम शुरु गरेको छ ।
पोखरा रंगशालमा शनिबार क्षेत्रिय प्रशिक्षण विभागले दिएको प्रशिक्षणमा बिभिन्न खेलका १५ वर्ष भन्दा मुनीका ४६ जना खेलाडीहरुको सहभागिता रहेको छ । उनीहरुलाई प्रशिक्षण अन्तरगत ‘लेभल ३’ को प्रशिक्षण दिन शुरु गरिएको विभागका उपनिर्देशक कृष्ण तिमिल्सिनाले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
पहिलो चरणको प्रशिक्षण अन्तरगत खेल मनोविज्ञान, सन्तुलित आहार, स्वास्थ उपचार र प्राथमिक उपचारको प्रशिक्षण प्रदान गरिएको उपनिर्देशक तिमिल्सिनाले बताए । ‘हामी उनीहरुलाई प्रशिक्षणका लागि प्रशिक्षण मात्रै दिइरहेका छैनौ भविष्यका लागि पनि मनोबैज्ञानिक रुपमा सक्षम बनाउन र राष्ट्रिय स्तरको खेलाडीको रुपमा स्थापित गर्न प्रशिक्षण दिइरहेका छौं’ उपनिर्देशक तथा प्रशिक्षक तिमिल्सिनाले भने–‘यस्तो प्रशिक्षण सैद्धान्तिक र प्रयोगात्मक दुबै प्रकारका रहेका छन ।’
‘लेभल ३’ को प्रशिक्षण अन्तरगत फुटबल, क्रिकेट र टेबुल टेनिसका खेलाडीलाई लक्षित गरिएको हो । उनीहरुलाई बायोमेकानिक्स र अन्य प्रशिक्षणका विधीहरुहरुका बारेमा समेत प्रशिक्षण दिइनेछ । प्रशिक्षणमा सहभागिता जनाएका खेलाडीहरुलाई प्रशिक्षण पछि सैद्धान्तिक र प्रयोगात्मक परिक्षा समेत लिइने उपनिर्देशक तिमिल्सनाले बताए । ‘लेभल ३’ को परिक्षा उर्तिण गरेपछि उनीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिने छ । ‘लेभल ३’ को प्रमाणपत्र खेलाडीको व्यक्तिगत जिबनमा भविष्यका लागि महत्वपूर्ण समेत रहने उपनिर्देशक तिमिल्सिनाले उल्लेख गरे ।
प्रशिक्षण कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रमुख ओम राना, क्षेत्रिय खेलकुद कार्यालयका प्रमुख लक्ष्मण प्रसाद योगी र प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी लगाएतको उपस्थिती रहेको थियो ।
