अन्तर्राष्ट्रिय बक्सिङमा सहभागिता जनाउन नेपाली बक्सिङ टिम भारत प्रस्थान

पोखरा, ३ जेठ । दोश्रो इन्डियन खुला महिला तथा पुरुष अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागि जनाउन नेपाली टिम शुक्रवार गुवाहटीतर्फ प्रस्थान गरेको छ ।

नेपाली बक्सिङ टोलीलाई राष्ट्रिय खेलकुद परिषद सदस्य अर्जुनवहादुर केसी, तालिम तथा प्रशिक्षण बिभागका निर्देशक रिमवहादुर रानाभाट, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, बक्सिङका भिष्मपितामह सुरेश सिंह आलेले बिदाई गरे ।

मित्र राष्ट्र भारतको गुवाहटीमा मे १९ देखि २५ सम्म संचालन हुने प्रतियोगितामा महिलातर्फ ५१ केजी तौल समूहमा एपीएफकी माला राई, ५४ केजीमा आर्मीकी मिनु गुरुङ, ५७ केजीमा आर्मीकै चन्द्रकुमारी थापा, ६० केजीमा एपीएफकी संगिता सुनार र ६४ केजीमा आर्मीकी पुनम रावलले नेपालको प्रतिनिधित्व गदै प्रतिस्पर्धामा उत्रने छन् ।

पहिलो संस्करमा महिलातर्फ नेपालले २ कास्य ल्याएको थियो । नेपाल आर्मीका खेलाडीद्धय बिमला श्रेष्ठ र पुनम रावलले २४ राष्ट्रका खेलाडी सहभागिता जनाएको खेलमा नेपाललाई महत्वपूर्ण २ काँस्य दिलाएका थिए । त्यस्तै पुरूषतर्फ ५२ केजीमा आर्मीका तेजवहादुर देउवा, ५६ केजीमा झापाका सुरेन्द्र राई, ६० केजीमा एपीएफका प्रकाश लिम्बु ईजम, ६४ केजीमा पुलिसका भुपेन्द्र थापा, ६९ केजीमा एपीएफका बिकास लामा र ९१ केजी माथीको तौल समूहमा आर्मीका आषिश दवाडीले नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने छन् ।

टिमको मुख्य प्रशिक्षकमा प्रकाश थापामगर,प्रशिक्षकमा हरिषवहादुर चन्द र रमेशदास श्रेष्ठ रहेका छन् । टिमको ब्यवस्थापकमा टर्कराज राई रहेका छन् । पहिलो संस्करणमा नेपाल आर्मीबाट प्रतिनिधित्व गरेका नेपालका बिमला श्रेष्ठ र पुनम रावलले काँस्य जितेका थिए । प्रतियोगितामा बिश्वका २४ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close