
केशब पाठक,
पोखरा, २८ बैशाख । ‘ठेलो’ भन्ने वित्तिकै गाउँ घरका मेलाहरुमा अझै पनि रौनक छाउँछ । समाज परिवर्तन संगै गर्भमा बिलिन हुन पुगेको ठेलो खेल भाषागत रुपमा समेत परिवर्तन हुँदै कहिँ ‘ठेलो’ त कहिँ ‘छेलो’ पनि भन्ने गरिन्छ । तर जानकारहरु यो खेलको नाम ठेलो नै हो भन्न रुचाउँछन ।
ठेलो खेल २१ औं शताव्दीको एथलेटिक्सको शटपुट खेल जस्तै हो । तर ठेलो खेलमा जती मनोरंजन शटपुटमा नहुने जानकार बताउँछन । किनभने शटपुट एउटा नियममा बाँधिएको खेल हो । ठेलोमा गोलो ढुङालाई एक ठाउँ बाट दौडेर उफ्रिदै जति टाढा पुर्याउन सकिन्छ त्यो नै बिजेता बन्ने गर्छ । यसको बिजेतालाई परम्परागत भाषामा ‘खायो’ भन्ने गरिन्छ । जुन ठाउँको बिजेता बन्छ त्यसले त्यो ठाउँको ठेलो खायो भन्ने गरिन्छ । गाउँघरमा ठेलो खाने प्रचलन अहिले पनि उत्तिकै छ ।
हाम्रो समाज अर्थात गण्डकी प्रदेश भित्र ठेलो अहिले पनि खेलिन्छ । धेरै ठेलो खाने पाका खेलाडीहरु देखि २१ औं शताव्दीमा पनि ठेलो खाने यूवाहरु प्रशस्त भेट्ने गरिन्छ । गण्डकी प्रदेश आफैमा पनि परम्परागत खेलको धनी प्रदेश हो । धनुषकाण अहिलेको अन्तर्राष्ट्रिय खेल ‘आर्चरी’ पनि गण्डकी प्रदेशको मुस्ताङ, म्याग्दी, मनाङमा निकै प्रचलित खेल हो । यो थकाली समाज भित्र निकै प्रचलित छ र अहिले पनि खेलिन्छ ।

त्यसै गरि ठेलो गण्डकी प्रदेश भित्रका केही जिल्लाहरु कास्कीको अर्मला, ताङतिङ, सिक्लेश, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दी, स्याङजा जिल्लाहरुमा लाग्ने विशेष पर्व र मेलाहरुमा ठेलो खेल निकै प्रचलनमा छ । त्यही भएर पनि गण्डकी प्रदेश सरकार यस्ता परम्परागत खेलहरुलाई संरक्षण र सम्वद्र्धन गर्न अगाडी बढेको गण्डकी प्रदेशका आर्थिक तथा योजना मामिला मन्त्रि किरण गुरुङ बताउँछन ।
‘प्रदेश सरकार परम्परागत धनुषकाण खेल र ठेलोको विशेष संरक्षण गर्दै राष्ट्रिय खेल र अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन चाहन्छौ’ मन्त्रि गुरुङ भन्छन–‘यस्ता परम्परागत खेल हाम्रो प्रदेशका पहिचान मात्रै होइनन यसलाई ओलम्पिक सम्म पुर्याउन आवश्यक छ ।’ मन्त्रि गुरुङको सोचलाई एक अर्थमा सहि पनि हो । आज ओलम्पिक भित्र समाहित खेल विश्वका अधिकांश भागमा खेलिने परम्परागत खेलका स्वरुप नै हुन ।
भूतपूर्व खेलाडी मंचका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका सदस्य तेज गुरुङ कुनै बेला ठेलो खाने मध्येका एक हुन । ‘ठेलो खानुमा अर्थात जित्नुमा छुट्टै रौनक थियो’ कुनै बेला ठेलो खेलमा बिजयी भएका गुरुङ भन्छन–‘जित पछिको अबिर जात्रा सहित फेटा गुथेर गाउँ घुमाइने र ठूलो मानसम्मान दिइन्थ्यो’ उनी थप्छन–‘कहाँ त्यती मात्रै हुन ठेलो जित्नेको त्यो वर्षभरी गाउँमा निकै सम्मान र आदर पनि हुन्थ्यो ।’ ‘त्यसैले पनि ठेलो खेल्न बलिया देखि दुव्ला पात्ला सबै यूवाहरु गाउँ–गाउँ पुग्थे, टाढा–टाढा बाट ठेलो फाल्न घुइचो नै लाग्ने गरेको’ उनले विगतका कुरा कोट्याए ।
मंचले पोखरामा आगामी जुन २३ का दिन अन्तर्राष्ट्रिय ओलम्पिक दिवशका अवसरमा पोखरामा ठेलो प्रतियोगिता आयोजना गर्ने तरखर गर्दैछ । प्रदेश सरकारको आयोजनामा हुने उक्त ठेलो प्रतियोगिताको व्यवस्थापन मंचले गर्नेछ ।नेपाल ओलोम्पिक कमिटीले पनि यो खेललाई अन्तर्राष्ट्रियस्तरमा समेत पुर्याउन पहिलो पटक चासो देखाउँदै जुन २३ का दिन यो खेल आयोजना गर्न स्विकृत दिएको हो ।
आर्थिक मामिला मन्त्रि गुरुङले सो प्रतियोगिता बारे भन्छन–‘यो खेल परम्परागत भए पनि यसलाई केही परिष्कृत गरेर अगाडी बढाउने जर्मको हामीले गरेका छौं’ उनले भने–‘यो खेलका नियम र विधान बनाएर आगामी नवौं राष्ट्रिय खेलकुदमा समेत समाहित गर्ने गरि अगाडी बढाउने हाम्रो योजना हो ।’
प्रदेश सरकार नै परम्परागत खेलको संरक्षण र सम्वद्र्धन तर्फ अगाडी बढ्नु सुखद कुरा हो । आजको खेल विज्ञान तर्फ उन्मुख भइरहेको बेला कुनै बेलाको प्रचलित ठेलो खेलको संरक्षण र सम्वद्र्धन पनि उत्तिकै खाँचो रहेको छ । आजको पुस्ताले हिजोको बाउ–बाजेले खेलेको परम्परागत खेल पोखरामा जुन २३ का दिन अवश्य अवलोकन गरेर मनोरंजन लिन सक्ने मात्रै नभई आफूलाई पनि ठेलो खेलमा समाहित गरेर ठेलो खान अर्थात बिजेता बन्न सक्नेछन ।
