
केशब पाठक,
पोखरा, २३ बैशाख । नागरिक उड्ययन प्राधिकरणले पोखराको प्याराग्लाइडिङ नियमनका लागि नेपाल हवाई खेलकुद संस्था (ना) लाई प्राधिकारिक संस्थाको रुपमा तोकेपछि व्यवसायिक उडानमा दुर्घटनामा न्यूनीकरण र राजश्व असुलीमा वृद्धी भएको देखिएको छ ।
यहि बैशाख १ गते देखि पोखरामा नियमनका लागि काम सुरु गरेको ना ले तिन हप्तामा नै केही सुधारका संकेतहरु देखापर्न थालेका हुन । उक्त कुराको पुष्टी गर्दै नाका अध्यक्ष योगेश भट्टराईले बजार व्यवस्थापन र नियमनमा निकै कडाई गरिएको बताए ।
पोखरामा रहेका ६३ वटा निजी प्याराग्लाइडिङ कम्पनीकहरुको छाता संस्था ना ले व्यवसायीलाई बजार ब्यवस्थापनमा समेत सहयोगी भूमिका निर्वाह गरिरहेको बताए । ‘हामी उडानको संख्या हेरेर सबै व्यवसायीलाई दैनिक उडानका प्रवन्धहरु मिलाएका छौं’ अध्यक्ष भट्टराईले भने–‘कुनै पनि व्यवसायी र पाइलट खाली बस्न्ु परेको छैन सबैले पालो सङै उडान भर्न पाएका छन ।’
‘लामो समय देखि लथालिङ बनेको पोखराको व्यवसायिक प्याराग्लाइडि क्षेत्र सम्हालिन केही दिन पर्खनु पर्ने हुन्छ’ अध्यक्ष भट्टराईले भने–‘हामी नयाँ सोचका साथ अघि बढेकोले पक्कै पनि सुधार हुँदै जाने विश्वास लिएका छौ ।’ नियमन संङै पाइलटहरुको लाइसेन्स अवधी एक वर्ष थप्ने र नयाँको हकमा लाइसेन्स जारी गर्ने र त्यो भन्दा पनि महत्वपूर्ण काम ग्लाईडरमा नम्वरिङ्ग गर्ने कुरा ना ले अघि बढाएको छ ।
यता नाका उपाध्यक्ष तथा कार्यकारी प्रमुख कृष्ण प्रसाद भण्डारीले अहिले पोखरामा करिब दैनिक ३ सय उडान हुने गरेको बताए । ‘नियमन पछि दैनिक ३ लाख भन्दा मुल्य अभिवृद्धी कर संकलन भएको देखिन्छ’ उनले भने–‘राजश्व असुलीमा गण्डकी प्रदेशकै ठूलो रकम हुन सक्छ ।’ त्यस भन्दा बाहेक पाइलटको टिडिएस वापतको १५ र कम्पनीको आयको २५ प्रतिशत रकम जोड्ने हो भने राजश्वको ठूलो हिस्सा ओगट्ने उनले बताए ।
त्यस भन्दा वाहेक पाइलटको अनुशासन र विशेष निगरानी भएकाले पनि कुनै पनि दर्ता नभएका कम्पनीले उडान भर्न नपाएको उपाध्यक्ष भण्डारीले बताए । ‘हाम्रो पहिलो प्राथमिकता शुरक्षा र व्यवसायलाई सुदृढ बनाउदैं पोखराको शाहसिक खेल गतिविधी मार्फत पर्यटन प्रवर्धन गर्ने नै हो, हामी यसमा कोही कसै संग पनि सम्झौता गर्नै सक्दैनौ’ उनले भने ।
ना का सल्लहाकार तथा बजार व्यवस्थापन समितीका संयोजक शैलेन्द्र राउतले अहिले पोखराको शाहसिक खेलकुदको गतिविधी प्याराग्लाइडिङमा निकै सुधारका संकेत देखिएको बताए । ‘हामीले यस अघि दिनहुँ जसो दुर्घटनाका कुरा सुन्ने गरेका थियौं तर ति सबै निर्मुल भएका छन’ उनले स्पष्ट पार्दै भने–‘पोखराको प्याराग्लाइडिङ क्षेत्र व्यवसायिक मर्यादा र अनुशासनमा अघि बढेको छ, नत यहाँ विचौलियाको कुनै मार छ न त दुर्घटनाको ।’
पोखराको शाहसिक खेलकुदमा नाम उच्च राख्न सफल पोखराको प्याराग्लाइडिङ पुनः नयाँ स्वरुपमा उभिएको छ । एक महिना पनि नपु्ग्दै देखिएका सुधारका संकेत संगै दुर्घटनामा न्यूनीकरण, राजश्वमा वृद्धी, टेक अफ र ल्याण्डिङका समस्या समाधान लगाएत व्यवसायिक क्षेत्रको समेत व्यवस्थापनले फेरी एक पटक गलत बुझाईले गिर्दै गएको शाख माथी उठेको छ । नागरिक उड्ययन प्राधिकरणले ना ले पाउने प्राधिकारिक संस्थाका अधिकारको क्षेत्रलाई अझै शसक्त बनाउने पर्ने देखिन्छ ।
