नेपाली राष्ट्रिय फुटबल टोली अर्को वर्ष २०२० मे मा बेलायत खेल्न जाने ! सहारा यूकेले यसरी गर्दैछ तयारी

केशब पाठक,
पोखरा, २३ बैशाख । नेपाली राष्ट्रिय फुटबल टोली अर्को वर्ष मे २०२० मा बेलायतमा मैत्रीपूर्ण खेल खेल्न जाने भएको छ । नेपाली राष्ट्रिय टोली यूके जानका लागि प्रारम्भिक चरणका सम्पूर्ण प्रवन्धहरु सहारा यूकेले मिलाएको हो ।

नेपाली राष्ट्रिय टोलीले ईङल्याण्डको ‘सि’ टिम संग खेल्ने भएको सहारा यूकेका अध्यक्ष कुमार गुरुङले पोखरा स्पोर्टसलाई बताए । बेलायत स्थित नेपाली राजदुताबासले यो कार्यक्रमलाई सफल बनाउन आफ्नो तर्फ बाट सकारात्मक भुमिका खेलिरहेको गुरुङले बताए । ‘सहारा यूके मात्र होइन यूकेमा बस्ने सम्पूर्ण नेपाली समुदाय र नेपाल तथा बेलायत बिचको कुटनितिक सम्वन्धलाई अझ बलियो बनाउने सबै पक्षहरु यो कार्यक्रम सफल बनाउने तर्फ अगाडी बढेका छौं’ अध्यक्ष गुरुङले भने । नेपालले सन २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने भएकोले पनि यो मैत्रीपूर्ण खेलले पर्यटन प्रवर्धन गर्न ठूलो भूमिका खेल्ने अध्यक्ष गुरुङले बताए ।

नेपाली फुटबलको छाता संस्था (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले उक्त कुराको पुष्टी गर्दै राष्ट्रिय टोली पठाउने प्रारम्भिक चरणका कुराहरु अघि बढेको बताए । उनले यसका लागि बेलायत स्थित नेपाली राजदुत संग पनि कुराकानी भइरहेको जानकारी दिए । ‘हामीले पहिलो चरणका छलफलहरु संगै पत्राचार पनि भइसकेको छ सबै कुराहरु केही दिनमा जानकारी दिनेछौं’ उनले भने ।

यूकेमा अर्को वर्षको तयारीका बारेमा कुराकानी गर्दै अध्यक्ष गुरुङले बेलायत स्थित नेपाली राजदुताबास, ईङल्याण्ड फुटबल संघ, ह्याम्पशायर फुटबल संघ, अल्डरशट फुटबल क्लब र यूके नेपाल फ्रेण्डशिप सोसाइटीले यसका लागि पूर्व तयारीका काम शुरु गरेको जानकारी दिएका छन । फुटबल खेल संगै नेपाल र बेलायत बिचको सम्वन्धलाई प्रगाढ बनाउने गरि थप सांंस्कृतिक महोत्सबका कार्यक्रमहरु पनि तय गरिने जनाइएको छ । इङल्याण्ड फुटबल संघ लिग सिष्टेमका प्रमुख लअरेन्स् सि जोन्सले नेपालले अर्को वर्ष सन २०२० को मे मा बेलायत भ्रमण गर्न सक्ने गरि कार्यक्रम तय गरिने यस अघि नै विभिन्न सञ्चार माध्यम मार्फत जानकारी गराईसकेका छन ।

‘नेपाली राष्ट्रिय टोली यूके ल्याएर मात्र भएन, कहिले खेल्ने? कहाँ खेल्ने? कहाँ राख्ने? को संग प्रतिष्पर्धा गराउने? सबै कुराको निक्र्याैल हुँदैछ’ अध्यक्ष गुरुङले भने–‘नेपाल र बेलायतको बिकासको सम्वन्धको २ सय ३ वर्ष लामो इतिहासलाई मध्येनजर गर्दै फुटबलका माध्यम बाट यसलाई अझ उचाई दिन चाहेका छौं ।’

अहिले सम्म नेपाली राष्ट्रिय टोलीले एक मात्र मैत्रपूर्ण खेल खेल्ने कुरा उठीरहेको भए पनि नेपाली टिम त्यहाँ पुगेपछि कम्तिमा पनि ३ वटा मैत्रीपूर्ण खेल खेल्न सक्ने गरि कार्यक्रमको तयारी हुन सक्ने अध्यक्ष गुरुङको भनाई छ । ‘अहिले नै सबै कुरा टुङ्गिएको छैन जुलाईको पहिलो हप्ता बस्ने बैठकले यस बारे अन्तिम टुङ्गो लगाउने छ ।’ यसका लागि प्रारम्भिक बैठक र इमेल बाट कुराकानीहरु अगाडी बढेको उनले बताए । ‘नेपालमा नेपाली फुटबलको छाता संस्था एन्फा संग पनि कुराकानी गरिसकेका छौं धेरै कुराहरु अघि बढेको छ आसा गरौं सबै कुराहरु क्रमिक रुपमा सम्पन्न हुनेछन’ गुरुङले भने ।

नेपाली राष्ट्रिय टोली र यूकेको राष्ट्रिय टोली ‘सी’ संग खेल हुनका लागि अल्डरशटको टाउन एफसीमा हुने गरि पूर्व तयारी भइरहेको भए पनि इङल्याण्ड फुटबल संघ लिग सिष्टेमका प्रमुख लअरेन्स् सि जोन्स संगको बैठक र कुराकानी पछि तय हुने अध्यक्ष गुरुङले बताए । राष्ट्रिय टोलीका खेलाडी लाई बेलायत घुमाउने र विशिष्ट व्यक्तित्व संग भेटघाटका कार्यक्रमहरुका बारेमा समेत छलफल चलिरहेको अध्यक्ष गुरुङले बताउँदै भने–‘प्रशासनिक र व्यवथापकिय कुराहरुको टुङ्गो जुलाईको बैठकले गर्नेछ अनि हामी त्यही ढङले अगाडी बढ्नेछौ ।’ नेपाली राष्ट्रिय टोलीले वेम्ली स्टेडियम समेत भ्रमण गर्ने पूर्व तयारी चलिरहेको छ । नेपाली राष्ट्रिय टोली र यूकेको राष्ट्रिय टोलीको मैत्रीपूर्ण खेल हेर्न ठूलो संख्यामा नेपाली दर्शक आउने अपेक्षा आयोजकले गरेको छ ।

नेपाली राष्ट्रिय टोलीलाई यूकेमा बोलाउनुको पछाडीका बारेमा जानकारी गराउँदै अध्यक्ष गुरुङले भने–‘हामीलाई फुटबलले चिनाएको छ, बेलायतमा स्पोर्टस् कम्यूनिटी भन्नु नै सहारा यूके नै हो भन्ने कुरा स्थापित भइसकेको छ, सहरा यूके नेपालको फुटबल बिकासका लागि प्रतिवद्ध छ र त्यही कुरा प्रदर्शित गर्न चाहन्छौ ।’ नेपाली टोलीलाई यस अघि पनि पटक–पटक यूके भ्रमण गराउने प्रयास गरिएको भए पनि समय लगाएत यावत कारणले सम्भब नभएको गुरुङले बताए ।

सहारा क्लब पोखराको भातृ संस्थाको रुपमा सन २००८ मा स्थापना भएको हो । सहारा यूके बेलायतमा नेपाली खेलप्रेमी समुदायहरु विचको सम्वन्धलाई नेपालको खेलकुद बिकासमा अघि बढाउन भूमिका खेलिरहेको मात्र नभई सहारा क्लबले आयोजना गर्ने आहा रारा गोल्ड कपको मुख्य सहयोगीको भूमिका समेत निर्वाह गरिरहेको छ भने सहारा एकेडेमीमा समेत सहारा यूकेको महत्वपूर्ण सहयोग रहदै आएको छ ।

आगामी कार्यक्रमका बारेमा जानकारी दिंदै भावी पुस्ताका लागि भन्दै सहारा यूकेले ६ वर्ष भन्दा माथी र १२ वर्ष भन्दा मूनीका बालकहरुका लागि छुट्टै एकेडेमी संचालन गर्ने तयारी गरिरहेको अध्यक्ष गुरुङले जानकारी गराए । हप्तामा एक दिन प्रशिक्षण र हप्ता एक दिन विदाको एक दिन म्याच खेल्ने गरि खेलाडीहरु लाई प्रशिक्षण दिइने गरि व्यवस्था गरिएको उनले बताए । ‘हामीले यसका लागि समेत स्थानको खोजी गरिरहेका छौं र छिट्टै निर्णय गर्ने छौं’ उनले भने । ‘यो भावी कार्यक्रम हो यसलाई हामी जुलाई बाट शुरु गर्ने प्रयासमा छौ’ गुरुङले भने । सहारा यूकेले भावी योजना अनरुप यूकेमा ‘सहारा एकेडेमी’ स्थापना गर्न लागेको हो छ । उक्त एकेडेमी सहारा क्लब पोखराको शाखाको रुपमा बनाउने लक्ष्य सहारा यूकेले राखेको छ । भौतिक संरचना सहित बन्ने उक्त एकेडेमी भविष्यमा फुटबलको बिकासका लागि कोसे ढुङा सावित हुने हुने सहाराले जनाएको छ ।

सहारा यूकेका अध्यक्ष कुमार गुरुङ अध्यक्षले कार्यभार सम्हालेको ४ महिना हुँदैछ । तर पनि उनको कार्यकालमा शुरु भएको अभियानले नेपाली खेलकुदको जग बलियो बनाउन ठोस सहयोग पुग्ने देखिन्छ । नेपाली राष्ट्रिय फुटबल टोलीलाई बेलायतमा पुर्याएर खेल्ने अबसर जुटाई दिने मात्रै नभई यूबा पुस्तालाई खेलकुदप्रती आर्कषित गराउने सहारा यूकेको प्रशंसिनय कार्य हो । सहारा यूकेले शुरु गरेको यो अभियानमा सबै नेपाली खेलप्रेमीहरुको साथ र सहयोगको उत्तिकै खाँचो भने अवश्य देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close