
केशब पाठक,
पोखरा, १९ बैशाख । गोर्खा कपको इतिहासका १७ वर्ष सायद लामो छ । किशोर अवस्थामा उभिएको गोर्खाकपको इतिहासले समग्र बेलायतमा रहेका नेपालीलाई मात्रै होइन विश्वभरि छरिएका नेपालीहरुका लागि समेत जोड्न उत्तिकै महत्वपूर्ण खेलेको छ । गोर्खा कप खेलकुद मात्रै होइन सामाजिक अभियानको पाटो पनि हो ।
तमु धि यूके गोर्खा कपको आयोजक । गुरुङ समुदायलाई जोड्ने मात्र नभई वर्तमानको विज्ञानको यूगमा समेत आफ्ना भावी पुस्ताका लागि ईतिहासलाई आत्मसाथ गराउन प्रेरित गर्न र त्यो मार्गमा हिडाउन अगाडी बढिरहेको संस्था हो तमु धिं यूके ।
गोर्खा कपको आयोजनाको श्रेय तमु धिं यूकेलाई जान्छ । परिवर्तित समाजमा बेलायत जस्तो पश्चिमेली समाज भित्र पनि ईतिहास बिर्सन नहुने गरि कालजयी बनेर ठिङ्ग उभिएको संस्था हो तमु धिं यूके । बेलायती सेनामा करिब २ सय वर्ष अघि देखि सेवा पुर्याएका बिर गोर्खालीहरुको इतिहास संग पनि गोर्खाकपको महत्वलाई झल्काउँछ ।

‘गोर्खा कप केबल मनोरंजन र खेलकुद आयोजना संग मात्रै जोडिएको छैन’ तमु धिं यूकेका सह–कोषाध्यक्ष समेत रहेका कमल गुरुङ भन्छन–‘नेपालको शिक्षा, स्वास्थ्य लगाएत अन्य बिकासको सन्दर्भ संग पनि यसले उत्तिकै महत्व राख्दछ ।’ नेपाल र बेलायत संग सामाजिक दृष्टीकोण बाट पूलको यसले काम गरिरहेको छ । बेलायतको ‘च्यारिटी’ कार्यक्रम मध्येको एक महत्वपूर्ण हिस्सा गोर्खा कप रहेको उनको भनाई छ ।
त्यही गोर्खा कपको च्यारिटीले नेपालमा धेरै गाउँका विद्यालय बनेका छन त कहिँ अस्पताल अनि समाजघर, कतै बाटो त कतै पिउने पानीको धारा । यि कुराले पनि हामी आकंलन गर्न सक्छौं गोर्खा कपको महत्व कति छ भनेर । कुनै पनि कार्यक्रमको प्रतिफल राम्रो नभएमा निरन्तर १७ वर्षको यात्रा पार गर्न सक्दैन । तर गोर्खा कपले दिएको सन्देश अनि उपलव्धीले यसको यात्रामा कतै ठेस पुगेको छैन । न त सक्छ नै । यसले बेलायतमा बस्ने नेपाली नागरिकलाई गोलबन्द बनाउन पनि ठूलो भूमिका खेलेको छ ।

यस वर्ष आयोजना हुने गोर्खा कप २०१९ मे २६ अर्थात जेठ १२ गते हुँदैछ । जसमा भेट्रान र यूवा टोली गरि विभिन्न ४० टिमले फुटबलमा प्रतिष्पर्धा गर्नेछन । संगै हुने सास्कृतिक कार्यक्रम, नेपालीहरुको आफ्नै पहिचान बोकेको खुकुरी नाच, प्याराशुट पदर्शनी लगाएत अन्य खाना लगाएत विविध सामाग्रीहरुको स्टल एकै स्थानमा राखिनेछ । बेलायत, एल्डरशट स्थित क्विन्स एभेन्यू खेलमैदानमा हुने गोर्खाकपमा १५ हजार भन्दा बढीको जमघट हुने तमु धिं यूकेका संस्थापक अध्यक्ष मिन गुरुङ ‘सिक्लेसी’ले बताए ।
संस्थापक अध्यक्ष गुरुङका अनु्सार १७ औं संस्करणमा बेल्जियम, आइसल्याण्ड, होल्याण्ड, आएरल्याण्ड लगाएत अन्य यूरोपियन मुलुक बाट बेलायतमा जमघट हुँदैछ । गोर्खा कप बेलायत रुश्मुर ब्योरो काउन्सिलको वार्षिक क्यालेण्डरमा समेत पर्न सफल मध्येको एक मात्र कार्यक्रम रहेको उनले बताए । उनले भने–‘यो कार्यक्रममा बेलायत लगाएत यूरोप देश भित्रका धेरै नेपालीहरु जमघट हुनेछन ।’

गोर्खा कप आफैमा एक इतिहास किन पनि हो भने यसमा वितरण हुने ट्रफी तत्कालिन गृसका राजाले उपहार स्वरुप गोर्खालीहरुलाई दिएका हुन । फुटबल प्रतियोगिताका दुई स्पर्धा यूवा र भेट्रानको ट्रफी गृसका राजाले प्रदान गरेको तमु धिं यूकेका अध्यक्ष नन्द जंग गुरुङले बताए । ‘यसको महत्व ऐतिहासिक र सांस्कृतिक रुपमा निकै महत्व राख्दछ त्यही भएर पनि बेलायतमा गोर्खा कपलाई सम्मानित रुपमा हेरिन्छ, अध्यक्ष गुरुङले भने ।
गोर्खा कप २०१९ को सम्पूर्ण जिम्मेबारी यति बेला संयोजकको भूमिकामा रहेर क्यापटेन पिताम्बर गुरुङले निर्वाह गरिरहेका छन । उनले नै सबै कुराको व्यवस्थापन समेत गरिरहेका छन । गोर्खा कपको पुरुस्कार राशी समेत धेरै राम्रो छ । जस अनुसार प्रथम हुने यूवा फुटबल टोलीलाई २ हजार ५०० र दोश्रो हुनेले १ हजार ५ सय पाउण्डका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने भेट्रान तर्फ प्रथम र दोश्रो हुनेलाई क्रमश १ हजार २ र ८ सय पाउण्डका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन । त्यसै गरि म्यान अफ दि म्याच हुने खेलाडीले ट्रफी र घडी समेत प्राप्त गर्नेछन ।

विश्वमा च्यारिटी संस्कृती बनेको छ । खास गरि बिकसित मुलुकमा गरिने च्यारिटीको राम्रो प्रभाब छ । च्यारिटीका माध्यम बाट समाजसेवा गरिएको लगानी दिगो समेत देखिएको छ । गोर्खा कप त्यही मध्येको एक च्यारिटी कार्यक्रम हो । नेपालमा बसेर गोर्खा कपको त्यो क्षणमा समाहित हुन नसके पनि सबै नेपालीहरुको नैतिक सर्मथनले कार्यक्रम सफल बनाउन बल पुग्नेनै छ । जय गोर्खा कप ! जय खेलकुद ! जय तमु धिं यूके !
