
पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरिय महिला भलिबलको तयारी पुरा भएको छ ।
उक्त प्रतियोगिता असार १४ गते बिहिबार (भोली) बाट पोखरामा सुरु हुने भएको हो । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको व्यवस्थापनमा हुने उक्त प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री एवं परिषदका संरक्षक सुुरेन्द्रराज पाण्डेले बिहान साढे ८ बजे पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा उद्घाटन गर्ने तय भएको छ ।
प्रतियोगितामा प्रदेशका ११ वटै जिल्लाका खेलाडीहरुको सहभागिता हुने छ । प्रतियोगितामा सहभागि सबै जिल्लाका खेलाडीहरु पोखरा आइसकेको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
प्रतियोगितामा उपाधि बिजेता टिमलाई नगद १ लाख, उपविजेतालाई नगद ७० हजार र तृतिय हुनेलाई नगद ४० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।
यसै गरी उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरलाई जनही नगद ५र५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र दिइने छ ।
प्रतियोगिता सम्पन्न गर्न परिषदका उपाध्यक्ष धोज कुमार गुरुङको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।
असार १६ गते सम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न कुल २० लाख खर्च लाग्ने र सो रकम खेल्छ गण्डकी कार्यक्रम मार्फत खर्च गरिने भएको आयोजकले जनाएको छ ।
