
पोखरा, ८ बैशाख । आर्चरीमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको छ । आर्चरीका विभिन्न इभेण्टमा गण्डकी प्रदेशले ५ स्वर्ण, ४ रजत र ३ कास्य पदक जितेर टिम च्याम्पियन बनेको हो । नेपाली सेनाले ५ स्वर्ण, २ रजत र ४ कास्य पदक जित्दै दोस्रो स्थानमा चित्त बुझाएको छ भने प्रदेश नं ३ ले २ रजत र २ कास्य पदक जिते ।

नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको ७० मिटर व्यक्तिगत रिकर्भको पुरुषमा कास्कीका आर्चरी क्लबका अशिम शेरचन र महिलामा आर्मीकी ज्ञानु अवालेले स्वर्ण जितेका छन् । नेपालगन्जस्थित क्षेत्रीय प्रहरी तालिम केन्द्रमा भएको पुरुष फाइनलमा अशिमले आफ्नै क्लबका मुकेश तामाङलाई ७–३ ले पराजित गरे । आर्मीका रोशन नगरकोटी तेश्रो भए ।
महिलाको उपाधि भिडन्तमा ज्ञानुले आर्मीकै मित्रा राईलाई ७–१ ले हराउदै च्याम्पियन बनिन् । कास्कीकी केशरी आले मगर तेश्रो भइन् ।
गण्डकी प्रदेशले महिला स्टाण्डर्डमा अन्नपुर्ण आर्चरी क्लबकी अर्चना थापाले स्वर्ण पदक जितिन् । उनले अन्नपुर्ण आर्चरी क्लबकै अनुष गुरुंगलाई ६–२ स्कोरले पराजित गर्दै स्वर्ण पदक जितेकी हुन । पुरुष कम्पाउण्ड तर्फको प्रतिस्पर्धामा कास्की आर्चरी क्लबका राजेश रानालाई पराजित गर्दै क्लबका जागृत गुरुंगले स्वर्ण पदक हात पारे ।
पुरुष रिकर्भ प्रतिस्पर्धामा नेपाली पुलिस क्लबलाई ६– ० ले पराजित गर्दै कास्की आर्चरीले स्वर्ण पदक जितेको हो । स्टाण्डर्ड महिला समूहगत प्रतिस्पर्धामा समेत कन्चपुर आर्चरी क्लबलाई ६–० अंकले पराजित गर्दै अन्नपुर्ण आर्चरी क्लबले स्वर्ण पदक जित्न सफल भएको हो ।
रिकर्भ मिक्स टिममा आर्मीका डम्बरबहादुर थापा र आइशा तामाङको जोडीले पहिलो स्थान हात पारे । फाइनलमा उक्त जोडीले आर्मीका रोशन नगरकोटी र ज्ञानु अवालेको जोडीलाई ६–२ ले निराश पारे । कास्कीका मुकेश तामाङ र केशरी आले मगरको जोडीले तेश्रो स्थानमा चित्त बुझाए । रिकर्भ पुरुष टिमको ७० मिटरमा कास्कीले प्रहरीलाई फाइनलमा ६–० ले निराश पा¥यो । आर्मी तेश्रो बन्यो ।
पुरुष व्यक्तिगत स्ट्यान्डर्ड ३० मिटरमा आर्मीका तविन गुरुङले फाइनलमा बेस्ट आर्चरीका प्रान्जल राईमाथि ६–० को जित निकाल्दै स्वर्ण जिते । आर्मीका कमल दानीले कांस्य जिते । त्यसै स्पर्धाको महिलामा अन्नपूर्ण आर्चरी क्लबकी अर्चना थापाले फाइनलमा अन्नपूर्णकै अनुषा गुरुङको चुनौती ६–२ ले समाप्त पार्दै स्वर्ण प्राप्त गरिन् । अन्नपूर्णकै सोलिना गुरुङ तेश्रो भइन् ।
पुरुष ५० मिटर व्यक्तिगत कम्पाउन्डमा कास्कीका जाग्रित गुरुङ शीर्ष स्थानमा रहे । फाइनलमा उनले कास्कीकै राजेश राणालाई निराश पारे । थसाङका रमेश भट्टचन तेश्रो भए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
आर्चरीमा १० स्वर्ण, १० रजत र १० कास्य पदकको लागि प्रतिस्पर्धा गरिएको थियो ।
