‘गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुदका लागि तयार छ’, तर………!

केशब पाठक,
पोखरा, ६ बैशाख । यतिबेला प्रदेश ५ मा आठौं राष्ट्रिय खेलकुदको महाकुम्भ जारी छ । ठिक दुई बर्ष अघि तत्कालिन पूर्वाञ्चलमा सम्पन्न पश्चात आठौं राष्ट्रिय प्रदेश ५ मा हुन लागेको हो । चैत २७ गते बाट शुरु भएको आठौं राष्ट्रियको बैशाख ५ मा औपचारिक उद्घाटन गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

आठौं सुरु भए लगतै पुनः एक पटक नवौं राष्ट्रिय गर्नका लागि होडबाजी सुरु भएको छ । हालै मात्र यूबा तथा खेलकुद मन्त्रालयले अबका राष्ट्रिय खेलकुद प्रतियोगिताहरु प्रदेश स्तरिय गर्ने निती निर्माण पछि अब त्यस्को जिम्मेबारी पनि प्रदेश सरकारको काँधमा आएको छ ।

यस अघि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता पश्चिमाञ्चल क्षेत्र अर्थात हालको गण्डकी प्रदेशको राजधानी पोखरामा गर्ने गरि तयारी चलिरहेको थियो । तर यूबा तथा खेलकुद मन्त्रालयले दबाब दिंदै प्रतियोगिता प्रदेश ५ मा गर्ने ठाडो निर्णय गर्यो । गण्डकी प्रदेशलाई दाँतमा ढुँगा साबित भयो । तयारी र तामझामका साथ झण्डा लिन धरान पुगेको टोली रित्तो हात घर फर्कियो ।

प्रदेश ५ मा औपचारिक रुपमा आठौंको सुरुवात संगै नवौंका लागि पुनः एक पटक भित्र–भित्रै आयोजनाका लागि दबाब सुरु भइसकेको छ । केहीले पत्र मार्फत त केहीले उच्चस्तरिय राजनितकि दबाब मार्फत । गण्डकी प्रदेशका लागि आठौं दाँतमा ढुँगा भए संगै नवौं घोषणा हुनेमा प्रदेश सरकार ढुक्क त छ तर अन्तिम समयमा जे पनि निर्णय हुन सक्ने भएकोले तयारी पनि गर्दैछ ।

गण्डकी प्रदेश सरकारले नवौं आयोजनाका लागि प्रतिवद्धता पत्र मार्फत नवौंं राष्ट्रिय प्रतियोगिताका लागि तयार रहेको जनाएको हो । अब नेपालगञ्जमा हुने राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले नवौ आयोजना स्थलको टुँगो लगाउने छ । त्यही भएर पनि दबाबमुलक प्रतिवद्धतापत्र तयार गरि सरकारले पठाएको हो । यसै गरि पोखरा महानगरपालिका र पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले पनि प्रतिवद्धता पत्र आफ्नै ढङले तयार गरेका छन ।

किन दिइन्छ दबाब ?
राष्ट्रिय खेलकुद प्रतियोगिता देशकै गौरब गर्ने मध्येको एक खेलकुद कार्यक्रम हो । एकै ठाउँमा देश भरिका खेलाडी जमघट हुने मात्रै नभई पूर्वाद्धार बिकासका लागि पनि महत्वपूर्ण पक्ष हो । यति बेला प्रदेश सरकारहरु आ–आफ्नै तरिकाले खेलकुद पूर्वाद्धारमा जुटेका छन । तर उनीहरुको त्यो एकल प्रयासले अर्बौ रुपैंयाका पूर्वाद्धार निर्माण सम्भब पनि छैन । त्यसकारणले पनि छोटो समयमा धेरै खेलकुदका पूर्वाद्धार निर्माण हुने भएकोले पनि त्यसमा चासो स्वाभाविक नै हुन आउँछ ।

खेलकुदका लागि के गर्दैछ गण्डकी प्रदेश सरकार
पहिलो निर्णय नै खेलकुद पूर्वाद्धार निर्माण गर्ने बाट सुरु गरेको गण्डकी प्रदेशको सरकारले उच्च स्तरिय खेलकुद पूर्वाद्धार गर्न समिती नै गठन गर्यो । धेरै ठाउँमा खेलकुद पूर्वाद्धारका लागि जग्गाको खोजी सरकारले गरिरहेको छ ।

हिमाल, पहाड र तराईलाई जोड्ने गण्डकी प्रदेश र प्रदेशको राजधानी पोखरा पर्यटनका लागि मात्रै नभएर खेलकुद गतिविधीका लागि समेत उपयूक्त थलो हो । प्रदेश सरकारले हिमाल तर्फ अन्तर्राष्ट्रिय स्तरको हाइ अल्टिच्यूड निर्माण संगै पोखरामा दुई वर्ष भित्र अन्तर्राष्ट्रिय स्तरको खेलकुद एकेडेमी र रंगशाला, क्रिकेट रंगशाला निर्माणका लागि पनि कामलाई तिब्रता दिन प्रयासमा जुटेको छ ।  त्यही भएर पनि प्रदेश सरकार नवौं राष्ट्रिय खेलकुदका लागि प्रतिवद्धता जाहेर गरेको हो ।

व्यवस्थापकिय अबस्था
खेलकुदमा खेलकुदका पूर्वाद्धार बिकासले मात्रै हुँदेन । खेलाडीलाई अहिलेको सुहाँउदो व्यवस्थापन अर्थात बसाइ, यातायत सुविधा तथा मनोरंजन र घुम्नका लागि विशेष स्थानहरुको पनि उत्तिकै खाँचो पर्छ । त्यसका लागि पनि पोखरा उपयूक्त गन्तब्य हो । पोखरामा २ हजार भन्दा वढी अन्तर्राष्ट्रिय स्तरका होटल, खानाको प्रवन्ध लगाएतका कारणले पनि पोखरा उपयूक्त थलो हो ।

अर्को महत्वपूर्ण पक्ष भनेको पोखराको मौसम पनि हो । अत्याधिक वर्षा हुने भनिए पनि त्यसको खासै प्रभाव खेलमा पर्दैन । किनभने पोखरामा वर्षेनी आयोजनाहुने ठूला अन्तर्राष्ट्रिय र स्थानियस्त्तरका प्रतियोगिताहरु सफलताका सम्पन्न भएका छन र केही हुदैं पनि छन, त्यसमा वर्षाले खासै प्रभाव परेको छैन ।

ठूलो धनराशीको व्यवसायिक क्रिकेट पोखरा प्रिमियर लिग बिना रोकटोक हुनुले पनि यो प्रमाणित गरेको छ । आहा रारा देखि मनकामना गोल्डकप वा अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका भलिबल प्रतियोगिताहरु निर्वाध संचालन भएका छन । न त धेरै गर्मी न त जाडो त्यही भएर पनि खेलाडीलाई आफ्नो क्षमता पर्दशनका लागि पनि पोखरा उपयूक्त रहेको खेल विशेषज्ञ बताउँछन । पोखरामा रहेका सुविधा सम्पन्न अस्पताल, चिकित्सक र अन्य आवश्यक पूर्वाधारले यहाँ खेल व्यवस्थापन गर्न कुनै अप्ठ्यारो छैन ।

पोखरा महानगरको चासो
विश्वकै १० उत्कृष्ट गन्तव्यमा पर्ने पोखरा शहरलाई खेलकुद शहरको रुपमा स्थापना गर्न पोखरा महानगर लागि परेको छ । हरेका वार्डमा एक खेल मैदानको निती अनुरुप वडाका २१ स्थानमा भलिबल र व्याडमिन्टन कोर्ट निर्माणका लागि महानगरले सुरुवात गरिसकेको पनि छ ।

पोखरा महानगरको ठूलो बजेट खेलकुद बिकासका लागि खर्च पनि हुँदै आएको छ । त्यसैले पोखरा महानगरले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न आफ्नो प्रतिवद्धता देखाएको हो । महानगरका प्रवक्ता धन बहादुर नेपाली भन्छन–‘पोखरा खेलकुदको पनि राधानी भएकोले नवौंका लागि महानगर तयार छ यसमा दुई मत रहन्न, हामी यस्को हार्दिकता पूर्वक स्वागत गर्छौ ।’

पोखरा आफैमा पर्यटकिए गन्तव्य मात्रै नभई लाहुरे (पेन्सनर)हरुको घना वस्ति पनि हो । पोखराको खेल बिकासमा उनीहरुको ठूलो योगदान छ । पोखरा शहर खेलप्रेमीहरुको वस्ति पनि हो भन्नुमा कसैको दुईमत रहन्न । पोखरा रंगशालालाई पर्खालले घेरेर संरक्षण गर्ने पोखरेली नागरिक नै हुन । राज्यको सम्पती खेलकुदलाई माया गरेर संरक्षण गर्ने पोखरेली नागरिकको चासोले पनि थाहा हुन्छ खेलकुदका पोखरा लागि किन प्रिय बनेको छ ।

अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशाला, कभर्ड हल
पोखरामा अन्तर्राष्ट्रिय स्तरको करिब १८ हजार दर्शक क्षमताको फुटबल रंगशालको निर्माण प्रारम्भ भएको छ । पोखराको विच भागमा अवस्थित पोखरा रंगशाला भित्रका पू्र्वाद्धारहरु मध्ये देशकै ठूलो बहुउद्धेृश्यिय कभर्ड हाल २ हजार २ सय क्षमताको पनि तयार छ ।

पोखरा रंगशाला भित्रै अन्तर्राष्ट्रिय स्तरको टेनिस कोर्टहरु, अन्तर्राष्ट्रिय स्तरको व्याडमिन्टन हल, अन्तर्राष्ट्रिय स्तरको स्क्वाश हल, अन्तर्राष्ट्रिय स्तरको आर्चरी, क्रिकेट खेल मैदान, ह्याण्डबल कोर्ट, सुविधा सम्पन्न मिडिया कक्ष, ह्याण्डबल खेल मैदान, अन्तर्राष्ट्रिय स्तरको भलिबल ट्रेनिङ सेन्टर, बास्केटबल कोर्ट लगाएत अन्य पूर्वाद्धार रहेका छन । नेपालको कुनै पनि रंगशाला भित्र यति धेरै पूर्वाद्धार एकै ठाउँमा छैनन । यो सबै पोखरामा छ । त्यही भएर पनि पोखरा नवौका लागि मात्रै नभएर कुनै पनि अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्ने थलो पनि रहेको छ ।

पोखरा भित्र लेखनाथको भण्डारढिकमा फुटबल रंगशाला र पोखरा १९ मा समेत फुटबल रंगशाला तयार भइसकेको छ ।
गण्डकी प्रदेश र यसको राजधानी पोखरा नवौ राष्ट्रिय खेलकुल प्रतिायोगिता आयोजनाका लागि तयार छ । तर… यति हुँदा हुँदै पनि अन्तिम समयमा जे पनि हुने भएकोले यसका लागि प्रदेश, महानगर र अहिले प्रदेशको नेतृत्व गरिरहेको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती सशंकित हुनु स्वाभाविक पनि हो । त्यसैले पनि आफ्नो तर्फ बाट बिशेष तयारी सुरु गरेको अध्यक्ष सम्पन्न श्रेष्ठले बताए । उनले विश्वस्त पार्दै भने–‘हामी यो वा त्यो ढङले गण्डकी प्रदेश नवौं आयोजक बन्छ, हामी झण्डा लिएर फर्कने छौं ।’ 
तस्बिरः सुर्दशन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close