
केशब पाठक,
पोखरा, १ बैशाख । नेपाल भ्रमण वर्ष २०२० घोषणाको पूर्व सन्ध्यामा दक्षिण कोरिया चुङनाम प्रान्त तेक्वान्दो खेलको विशिष्ट टोली पोखरा आइपुगेको छ । कोरियाको एम.बि.सी टेलिभिजन सहितको २२ सदस्यिय टोलीले भेटघाट र छलफल पछि गण्डकी प्रदेश तेक्वान्दो समिती संग सम्बन्धलाई अझै कसिलो लक्ष्यका साथ अघि बढेको छ ।
नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेश समितीका अध्यक्ष जगन गुरुङ, महासचिब रमेश पौडेल कोषाध्यक्ष माइकल कर्माचार्य लगाएत अन्य पदाधिकारी र सदस्यहरु संग भ्रमण दलको टोलीले भेटघाट गर्नुका साथै दुई प्रान्त बिचको सम्बन्धलाई तेक्वान्दो खेल मार्फत आगामी दिनमा थप विस्तार गर्ने तथा दुई प्रान्तलाई तेक्वान्दो खेलको भगिनी प्रान्तको रुपमा बिकास गर्ने गरि अगाडी बढाइने कुरामा जोड दिइएको हो ।

चुङनाम प्रान्त तेक्वान्दो संघका महासचिब किम योङ कियोन, उपाध्यक्ष किम राक जोङ र एम.बि.सी टेलिभिजनका लि क्वान गोन लगाएत भ्रमण दलको २२ जनाको टोलीले पोखरा रंगशाला पुगेर गण्डकी प्रदेशका तेक्वान्दो खेलाडी र प्रशिक्षकहरु सङ प्रत्यक्ष भेट्नुका साथै तेक्वान्दो खेल बारे जानकारीहरु आदान–प्रदान लिनुका साथै पोखराका ४० जना तेक्वान्दो खेलाडी संग डेढ घन्टा सङ–सङै प्रशिक्षण समेत लिएका थिए ।
चुङनाम प्रान्त तेक्वान्दो टोलीको सम्मानमा आयोजित कार्यक्रममा पोखरा महानगर पालिकाका मेयर मान बहादुर जिशीले पोखरालाई खेल पर्यटन शहरको रुपमा बिकास गर्ने लक्ष्यका साथ महानगर अगाडी बढेको बताए । उनले पोखरा महानगरको बिकासमा कोरियाको महत्वपूर्ण सहयोग रहेको कुरा उल्लेख गरे ।

कार्यक्रममा चुङनाम प्रान्त तेक्वान्दो संघका महासचिब किम योङले कोरियाको चुङनाम प्रान्त तेक्वान्दो खेलको जननीको रुपमा रहेको कुरा उल्लेख गर्दै गण्डकी प्रदेश तेक्वान्दो संघ संग आगामी दिनमा सम्बन्धलाई अझै बलियो बनाउने र खेलाडी तथा प्रशिक्षकहरुको भ्रमण आदान प्रदान कार्यक्रमलाई समेत अगाडी बढाइने बताए । उनले कोरियामा प्रभावशाली खेलाडी उत्पादन गर्न आफ्नो संघको महत्वपूर्ण भूमिका रहेको बताए ।
सो अबसरमा नेपाल ओलम्पिक कमिटीका सदस्य तेज गुरुङले सन १९८३ बाट कोरियाकै सहयोग बाट नेपाल प्रवेश गरेको खेल तेक्वान्दोको खेल विस्तारमा महत्वपूर्ण भूमिका रहेको बताउँदै चुङनाम प्रान्त तेकन्दो संघ सङको सम्वन्ध विस्तारले गण्डकी प्रदेशको तेक्वान्दो खेल सङै खेल मार्फत पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने धारणा राखे ।

कार्यक्रममा नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशका अध्यक्ष जगन गुरुङले दुई देशका प्रान्तिय संघहरुको सम्वन्ध बिकासले गण्डकी प्रदेशको तेक्वान्दो खेल बिकासमा महत्वपूर्ण योगदान रहने विश्वास लिदैं आगामी दिनमा सम्वब्धलाई अझै मजबुत बनाउँदै भगिनी संघको रुपमा अगाडी बढाउने मात्रै नभई तेक्वान्दो खेल बिकासको महत्वपूर्ण उद्धेश्य पुरा गर्न सम्बन्धले बल मिल्ने बताए ।
सो कार्यक्रमा भ्रमण टोलीका सदस्यहरुले गण्डकी प्रदेशका खेलाडीका लागि ५० थान खेल पोशाक उपहार स्वरुप अध्यक्ष गुरुङलाई हस्तान्तरण गरेका थिए भने भ्रमण टोलीमा रहेका सदस्यहरुलाई नेपाली ढाका टोपी प्रदान गरेर स्वागत गरिएको थियो ।

