
पोखरा, २६ चैत । प्रदेश ५ को नेपालगञ्जमा आयोजना हुने ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउन गण्डकी प्रदेशको बास्केटबल महिला तथा पुरुष टोली त्यस तर्फ प्रस्थान गरेको छ ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले मंगलबार एक कार्यक्रम गरि बास्केटबल टोलीलाई बिदाई गरेको हो । उक्त कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले विदाई गर्दै गण्डकी प्रदेशले हालका दिनमा बास्केटबल खेलमा स्थापित गर्नका लागि गरिएका प्रयासहरुको प्रंशसा गर्दै भने–‘कुनै पनि खेलाडीले प्रदेश बाट सहभागिता जनाउन पाउनु गौरबको विषय रहेको भए पनि आफूलाई सोही अनुसारको खेलाडीको रुपमा मात्रै नहेरी भोलीका दिनमा राष्ट्रिय स्तरको खेलाडीका रुपमा स्थापित गर्न मेहनतका साथ खेल्नु पर्ने बताए ।

अध्यक्ष श्रेष्ठले हालका दिनमा आफू अध्यक्षको रुपमा पदभार ग्रहण गरिरहेको भए पनि आफ्नो २५ वर्षे खेलजिवनको इतिहास रहेको बताउँदै भने–‘एक उत्कृष्ट खेलाडी बन्न कस्तो मेहनत र परिश्रम गर्नुपर्छ त्यसबारे म अनिभिज्ञ छैन ।’ उनले खेलमा अनुशासनको महत्वपूर्ण पक्ष सदैब अग्रभागमा राखेर सोही अनुसारको क्षमता पर्दशन गर्न खेलाडीलाई आग्रह गरे । उनले अनुशासन पालना गर्न नसक्ने खेलाडी कहिं कतै पनि खेलाडी भनेर आफ्नो परिचय पाउन नसक्ने बताए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका वरिष्ठ कानुन अधिकृत एवम भेट्रान बास्केटबल खेलाडी नारायण प्रसाद शर्माले महिला तथा पुरुष टिमका २८ जना खेलाडीलाई खेल जर्शी व्यक्तिगत रुपमा प्रदान गरेका थिए ।
दाङको घोरहीमा चैत २८ देखि बैशाख ४ गते सम्म संचालन हुने बास्केटबल प्रतियोगितामा जाने खेलाडीलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, प्रशिक्षण विभाग निर्देशक विद्या मर्सानी, जिल्ला खेलकुदका कोषाध्यक्ष दिपक बहादुर गोदार, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङ, जिल्ला खेलकुदका सदस्य दिपक तिमिल्सिना लगाएतले विदाई गरेका थिए ।
गण्डकी बास्केटबल महिला टिमको टिम व्यवस्थापकमा नारायण प्रसाद शर्मा, पुरुष टिमको ब्यवस्थापमा ध्वज कुमार गुरुङ, टिम प्रशिक्षकमा प्रदिप रसाइली र शिब पुन रहेका छन ।
फेन्सिङ टिमको बिदाई

यसै गरि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले एक कार्यक्रमका त्रिच फेन्सिङको प्रदेश स्तरिय टोलीलाई विदाई गरेका छन । उनले सो अबसरमा खेलाडीलाई बिजेता बन्न शुभकामना दिंदै उत्साही तर अनुशासित भएर खेलन आग्रह गरे । उनले अनुशासनको पालना गर्न नसक्ने कुनै पनि खेलाडी जिवनमा खेलाडी हुन नसक्ने भएकाले पनि जितका लागि अनुशासन महत्वपूर्ण पक्ष रहेको बताए ।
नेपालगञ्ज स्थित महेन्द्रक्याम्पसको परिसरमा बैशाख १ गते देखि आयोजना हुने फेन्सिङ खेलमा गण्डकी प्रदेश बाट महिला र पुरुष खेलाडी गरि २४ जनाको सहभागिता रहेको छ । जसको टिम प्रशिक्षकमा रेकमाया गुरुङ र टिम ब्यवस्थापकमा निशान कार्की रहेका छन ।
