पूर्व  राष्ट्रिय फुटबल खेलाडी सनमन गुरुङको पुस्तक ‘मेरो मन’

पोखरा, २३ चैत । खेलाडी पोखरा रामबजार घर भइ हाल बेलायत निवासी सनमन गुरुङले ‘मेरो मन’ पुस्तक प्रकाशन गरेका छन् । उनी विगतमा फुटबलका राष्ट्रिय खेलाडी रहि सकेका थिए । तत्कालिन गण्डकी अञ्चलको प्रतिनिधित्व गर्दै खेलेका थिए । तिनै खेलाडीले एक पुस्तक ‘मेरो मन’को जन्म दिएका हुन ।

विगतमा फुटबल खेलाडी छँदा उनी दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएका थिए । भुटानको थिम्पु–११ र गण्डकीको मैत्रीपूर्ण फुटबलमा उनले ह्याट्रिक समेत गरेका थिए ।

सो पुस्तकको बेलायतमा आयोजित एक समारोहमा रामबजार सोसाइटी युकेका प्रमुख सल्लाहकार क्याप्टेन चन्द्रबहादुर पुन, अध्यक्ष जुमकाजी गुरुङ, पोखरेली मञ्च युकेका अध्यक्ष मानबहादुर गुरुङले संयुक्त विमोचन रुपमा गरेका थिए ।

विगत २३ वर्षदेखि बेलायतमा कार्यरत रहेका सनमन गुरुङको यो पहिलो पुस्तक हो । पुस्तकमा विशेषगरी सकारात्मक सोचसँगै आत्मबल कसरी विकास गर्न सकिन्छ भन्नेबारे विभिन्न शीर्षकमा मिहिन ढंगले उल्लेख गरिएको छ ।

९५ पृष्ठ लामो सो पुस्तकमा ब्रह्माण्ड र सोच, पृथ्वीको उत्पत्तिको कथा, मानवजातिको उत्पन्न र मनका कुराहरु, धार्मिक युग, भगवान् बुद्धका कथाहरु, ईच्छा शक्ति, मानव सभ्यता, संस्कार, ल्होसार पर्व, राष्ट्रवाद लगायत शीर्षक रहेका छन् ।

सन् २००९ मा स्थापित रामबजार सोसाइटी युकेका संस्थापक सचिव गुरुङ संस्थाका निवर्तमान अध्यक्ष हुन् । संस्थाकै पहलमा रामबजार लगायत विभिन्न क्षेत्रमा सामाजिक काममा आर्थिक सहयोग उपलब्ध हुँदै आएको छ ।

लेखक गुरुङ भन्छन– ‘समसामयिक घटनालाई सँगालेर पुस्तक लेख्ने जमर्को गरेको हुँ, पुस्तकमा मानवजीवनमा समय अनुसार परिवर्तन अपरिहार्य रहेको विषय औल्याउने कोशिस गरेको हुँ ।’

हालैमात्र जन्मभूमि पोखरा आएका उनले पुस्तक बिक्रीबाट हुने मुनाफा पर्यावरण संरक्षणमा खर्चिने बताए । बेलायतमा उनी १९ वर्षदेखि बस चालक छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close