पोखरामा हुने एसिया कप तथा साउथ एसियन ट्रायथलनको सम्पूर्ण तयारी पुरा

पोखरा स्पोर्टस । देशकै पर्यटकिय शहर पोखरामा हुने सातौं सस्करणको एसिया कप तथा १० औं संस्करणको साउथ एसियन ट्रायथलन च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा भएको छ ।

नोपल ट्रयाथलन संघको आयोजना तथा गण्डकी प्रदेश ट्रायथलन संघको सहकार्यमा आयोजनमा भोली (शनिबार)बाट उक्त प्रतियोगिता सुरु हुने भएको हो । दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न १५ देशका ६२ जना खेलाडीहरुले सहभागिता जनाउन् खेलाडीहरु पोखरा आइपुगेको संघका उपाध्यक्ष सुमन देवकोटाले जानकारी दिएका छन् ।

प्रतियोगितामा नेपालसहित अस्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, प्लेस्टाइन, उरुग्ये, अस्ट्रिया, अल्जेरिया, न्यूजिल्याण्ड, लक्जम्वर्ग, जापान, भारत, मरिसस, काजाकास्तान, वंगालादेश, उज्बेकिस्तानलगायतका देशका खेलाडीले सहभागिता जनाउने छन् । प्रतियोगितामा कुल ३८ वुरुष र २४ महिलाहरुले चुनौती पस्किने छन् ।

उक्त प्रतियोगितामा ९ सदस्यिय नेपाली टोलीको सहभागिता रहेको छ । टोलीमा ४ महिला र ५ पुरुष रहेका छन् । नेपाली महिला टोलीमा पुष्पा रोकाया, शोभा बलामी, श्रेवी महर्जन र ज्ञानु कुमार चौधरी रहेका छन् भने पुरुषतर्फ विपान खत्कत्वा, मुकेश थारु, प्रविन थारु, यजु महर्जन र मौलिक महर्जन ।

मेगा इभेन्टको रुपमा रहेको उक्त प्रतियोगिता भोली (शनिबार) बिहान ७ बजे पोखराको गौरीघाटबाट सुरु हुनेछ । ७५० मिटर पौडी, २० किमि साइक्लिङ र ५ किलोमिटर समावेश ट्रायथन पोखराको गौरीघाट, सहिदचोक, मुस्ताङचोक, विरौटा चोक, ड्यामसाइड हुँदै राष्ट्रबैंक चोकको रुट तय गरिएको गण्डकी प्रदेश ट्रायथलन संघका अध्यक्ष डिल्लीराज सुवेदी ‘शिषिर’ले बताए । उक्त रुट प्रतियोगिताका दौरान करिव चार घन्टाका लागि बन्द गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको अवलोकनका लागि विश्व ट्रायथलन महासंघकी अध्यक्ष मारिसोल कासाडो पोखरा आउने छन् भने उनी संगै महासंघका महासचिव समेत् एन्टोनियो आरामानी आउने भएकोले पनि प्रतियोगिताले अन्तर्राष्ट्रियस्तरमा चर्चा पाएको उपाध्यक्ष देवकोटाको भनाई छ ।

करिव ७० लाख खर्च हुने उक्त प्रतियोगिताका लागि महिलातर्फ र पुरुषतर्फ (पहिलो देखि पाँचौ सम्म) ५–५ गरी १० जनालाई ४ हजार २ सय डलर नगल पुरस्कार राशी प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत दुआथलन प्रतियोगिता समेत हुनेछ । 

सो अवसरमा नेपाल ट्रायथनल संघका महासचिव युवराज सुनुवारले पोखरा ट्रायथलन खेलका लागि महत्वपूर्ण रहेको जनाउँदै प्राविधिकरुपमा समेत सम्पूर्ण तयारी पुरा भएको जनाए । उनले यो प्रतियोगिता सोझै वर्ल्ड ट्रायथलन संग जोडिएकोले पनि यसको गरिमा अझै उच्च रहेको जनाउँदै सहयोगका लागि आग्रह गरे ।

पत्रकार सम्मेलनमा बोल्दै पोखरेली पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठले खेलकुदमार्फत पोखराको पर्यटन प्रवर्द्धन गर्न यस प्रकारका कार्यक्रम फलदायी हुने बताउँदै पोखरेली पर्यटन व्यवसायीहरुले चासो संगै सहकार्यका लागि आफ्ना प्रतिवद्धता जनाएको बताए ।

कार्यक्रममा विश्व ट्रायथलन महासंघका टेक्निकल डेलिगेट्स प्रभात शर्माले यस प्रकारको कार्यक्रम नेपालमा आयोजना हुनु सबैका लागि गौरवमा विषय रहेको जनाउँदै टेक्निकल रुपमा पोखरा ट्रायथलन खेलका लागि निकै उत्कृष्ट गन्तव्य रहेको उल्लेख गरे । उनले भने–“कुनै देशले पनि यस प्रकारको प्रतियोगिता आयोजना गर्न आँट गर्न सक्दैन । प्राविधिक रुपले सबै मुलुक सक्षम पनि छैनन् । पोखरा मात्रै यस्तो शहर हो जहाँ यो प्रतियोगिता सम्भव छ ।” उनले प्रतियोगिताका लागि ६० जना टेक्निकल डेलिगेट्स सहभागि हुने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close