आठौं राष्ट्रिय अन्तरगत प्याराग्लाइडिङ खेल बैशाख ६ गते बाट पोखरामा

केशब पाठक,
पोखरा, १७ चैत । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत प्याराग्लाइडिङको खेल बैशाख ६ देखि ९ गते सम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुने भएको छ । शनिबार राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको पत्रकार सम्मेलनमा चैत २७ गतेको मिती घोषणा गरिएको थियो ।

सो बारे जानकारी दिदैं नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा)का महासचिब शैलेन्द्र राउतले मौसम लगाएत अन्य कारणले बैशाख ६ देखि ९ गते सम्मलाई तोकिएको बताए ।

एन्डोनेशियामा भएको १८ औं एशियाली खेलकुदमा प्याराग्लाइडिङ खेलले नेपालको पदक विहिनताको अवस्थालाई समाप्त गर्दै काँश्य पदक हात पारेको थियो । यस अघि एशियाली खेलकुदको इतिहासमा पहिलो पटक समाबेश प्याराग्लाइडिङ नेपालको राष्ट्रिय खेलकुद प्रतियोगिताको इतिहासमा समेत पहिलो पटक  समावेश गरिएको छ । यद्यपी नेपालमा प्याराग्लाइडिङ खेलको इतिहास भने २० वर्ष पुरानो छ ।

प्याराग्लाइडिङ खेलले खेलकुदको विश्व मानचित्रमा नेपालको शाखलाई जोगाएको मात्रै छैन शाहसिक खेल प्याराग्लाइडिङ नेपालको पर्यटनको प्रमुख गन्तव्य पनि बनेको छ ।

पोखरामा हुने प्याराग्लाइडिङ खेल संचालन गर्न करिब ३८ लाख खर्च हुने अनुमान गरिएको नेफाका महासचिब राउतले जानकारी दिए । विशेष गरि खेलाडी भत्ता, यातायात, रेस्क्यू टिम, चिकित्सक टिम तथा एम्बुलेन्स, खाना र आवाश लगाएतमा ठूलो रकम खर्च हुने महासचिब राउतले बताए ।

तर परिषद बाट खर्चको विषयमा अझै केही जानकारी प्राप्त नभएको महासचिब राउतले बताए । ‘परिषदले अहिले सम्म खेलाडी भत्ताको कुरा मात्रै गरेको छ तर यसमा लाग्ने अन्य खर्चका बारेमा भने मौन छ’ उनले भने ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सचिबालय प्रमुख इन्द्र कार्कीले प्याराग्लाइडिङमा करिब ८० जना महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने बताए । सहभागी खेलाडीको अनिवार्य लाइसेन्स हुनु पर्ने र प्रदेश स्तरिय हुनु पर्ने उनले बताए । प्रतियोगितामा लाग्ने खर्चको लागि सचिबालयले खेलाडीको भत्ताका बारेमा शिफारिस गरेको भए पनि अन्य खर्चका बारेमा सदस्य सचिबले निर्णय गर्नुपर्ने उनको भनाई छ ।

‘मैले अन्य खर्चको बारेमा उहाँहरुलाई सदस्य सचिबज्यू संग कुरा गर्न भनेको छु, हामीलाई थाहा छ खेलाडीको भत्ताले मात्रै प्रतियोगिता संचालन हुँदैन’ प्रमुख कार्कीले भने । प्याराग्लाइडिङ तर्फ एक्यूरेसी र क्रस कन्ट्री गरि दुई विद्यामा प्रतियोगिता गराइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close