
पोखरा, १६ चैत । राष्ट्रिय खेलकुद परिषदले शनिबार एक पत्रकार सम्मेलन मार्फत बहुप्रतिक्षित आठौं राष्ट्रिय खेलकुदको प्रतिक्षाको घडी समाप्त भएको जनाउँदै प्रतियोगितामा समावेश विभिन्न ३५ खेल मध्ये कतिपय खेलहरु भने २०७५ साल चैत २७ गतेदेखि नै सुरु गरिने जनाएको छ ।
चैत १५ गते राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष तथा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को अध्यक्षतामा बसेको परिषद्को १११ औं बोर्ड बैठकले आठौं राष्ट्रिय खेलकुद २०७६ साल बैशाख ५ देखि ११ गतेसम्म गर्ने निर्णयको जानकारी पत्रकारहरुलाई गराउँदै परिषदका सदस्य चिब विष्टले प्रदेश ५ मा हुन गइरहेको आठौं राष्ट्रिय खेलकुदका खेलहरु बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र कास्कीमा हुने बताए । कास्कीमा भने एक मात्र खेल प्याराग्लाइडिङको खेल हुनेछ ।
प्रत्येक २–२ वर्षको अन्तराल गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुदको सुरुका तीन संस्करण बाहेक कुनैपनि राष्ट्रिय खेलकुद २ वर्षको अवधिमा हुन नसकेको बताउँदै सदस्य सचिब विष्टले भनेका छन –‘उक्त परिस्थितिको अन्त्य गर्न हामीले आठौं राष्ट्रिय खेलकुदलाई २ वर्षकै अवधिमा आयोजना गर्ने गरी तयारी थालेका थियौं ।’
सदस्य सचिब विष्टले आठौं राष्ट्रिय खेलकुदमा सहभागी हुने सम्पूर्ण खेलाडी, प्रशिक्षकलगायत सम्पूर्ण सरोकारवालालाई आठौं राष्ट्रिय खेलकुदलाई उपलब्धीमुलक ढंगले सफल पार्नका लागि तयारीमा जुट्न आव्हान समेत गरेका छन । उनले आठौं राष्ट्रिय खेलकुदको उद्घाटन र समापन बाँकेको नेपालगन्ज रंगशालामा एक भब्य समारोहबीच हुने जानकारी समेत दिए ।
आठौं राष्ट्रिय खेलकुदमा कुल ५ हजार २ सय ११ जना खेलाडीहरुको सहभागीता रहने छ जस्मा २ हजार ८ सय २५ पुरुष खेलाडी रहने छन् भने २ हजार ३ सय ८६ महिला खेलाडीहरुको सहभागीता रहने छ । साथै टिम प्रशिक्ष्ँक ६ सय ४० जना र टिम व्यवस्थापक ४ सय ६१ जनाको सहभागीता रहने छ ।
प्रतियोगितामा ३ सय ७२ स्वर्ण, ३ सय ७२ रजत र ५ सय ६३ वटा कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ भने ७ सय ९३ वटा स्वर्ण, ७ सय ९३ वटा रजत र १ हजार १ सय २ वटा कास्य समेत गरि जम्मा २ हजार ६ सय ८८ वटा मेडलका लागि खेलाडीले प्रतिष्पर्धा गर्नेछन । आठौं राष्ट्रियमा रेकर्ड ब्रेक गर्ने खेलाडीलाई नगद २५ हजारको पुरुस्कार राशी समेत घोषणा गरिएको छ ।
आठौं राष्ट्रियमा कुल ४३ करोड ८५ लाख ५१ हजार ६ सय ५० रुपैंया खर्च हुने अनुमान गरिएको छ ।

