
केशब पाठक,
पोखरा, ११ चैत । ‘खेलकुद यस्तो चिज रहेछ जसबाट म उम्किन सक्दिन’ ४२ वर्षिय नाराज बहादुर खडका (हरि) भन्छन–‘जे पाँए खेलकुद बाटै पाँए, आज जुन जगमा उभिएको छु, खेलकुदकै कारण बाट छु ।’ नम्र बोली जो संग पनि हाँसेर बोल्न रुचाउने स्वयंसेबी प्रशिक्षक हरि खेलकुदले नै जिबन जिउन सिकाएको भन्न रुचाउछन ।

दोलखा घर भएका हरि १३ वर्षको उमेरमा गाउँ छोडेर काठमाण्डौ आए देखि नै मामा कुवेर बस्नेतले उनलाई सितेरियो कराते सिक्न दशरथ रंगशाला छिराए । त्यहाँ देखि यता उनले पछाडी फर्केर हेरेका छैनन । लाग्दछ खेलकुद उनको नसा–नसामा बगेको छ । जिविकोपार्जनका लागि लेकसाइडको कफि सप उनका लागि काफी छ । न त आफ्नो कुनै घर छ न सम्पती । जे छ उनका लागि खेलकुद छ । जिवन यसैका लागि अघि बढेको उनी भन्न चुक्दैनन । २०४७ सालमा १३ वर्षको उमेर बिहानै ४ बजे कालिमाटी बाट रंगशाल आउँदा हुस्सुले नदिखिने बाटोमा डर छल्न गित गाउँदै दौडेको हिजो जस्तै लाग्छ रे उनलाई ।

२०५१ देखि २०६४ सम्म फुल कन्ट्याक्ट कराते पनि खेले । पदक उनको लागि खासै अर्थ राखेन । जुन दिन देखि मार्शल आर्ट खेल बुझे त्यही दिन बाट अब म यसको प्रशिक्षक बन्छु भन्ने रहर मनमा बस्यो । त्यो उनले पुरा गरि छाडे । २०५१ सालमा पोखरा छिरेका हरि केन्पोकाईका दक्षिण एशियाका लागि मुख्य प्रशिक्षक हुन । परिषदमा केन्पोकाई दर्ता गरे । जसको मुख्यालय पोखरालाई बनाए । २०५८ बाट उनले प्रशिक्षण गर्न थालेको पनि दुई दशक भइसक्यो । केम्पोकाईका पाँचौ डान हरीको यात्रा भने रोकिएको छैन ।

बिहानै ७ बजे रंगशाला छिर्ने हरि बिहान र सँझ गरि ७ घन्टा रंगशालामा नै बिताउँछन । उनको प्रमुख जिम्मेबारी भनेको नै प्रशिक्षक उत्पादन गर्नु हो । तर नयाँ खेलाडी उत्पादन गर्न भने उनी छोड्दैनन । अहिले पनि ४५ जनाले उनी संग प्रशिक्षण लिइरहेका छन । केन्पोकाई जापानी मार्शल आर्ट खेलको समिश्रण खेल हो । जापानी सेनाले आत्मरक्षाका लागि प्रयोग गर्ने ‘सामुराई’ अर्थात तलबार लिएर खेलिने यो निकै आर्कषक र सुरक्षित खेल मानिन्छ । यो मिक्स मार्शलआर्ट खेल पनि हो । हरि अब छैटौ डान लिने तयारी गर्दैछन । यसका लागि उनले छ वर्ष कुरेका मात्रै छैनन कठिन परिश्रम गरेका छन । यसका लागि उनी चाँडै जापान जाने तयारी गर्दैछन ।
आफू कसरी राम्रो खेल खेल्ने र खेलाडीलाई त्यही बाटोमा अग्रसर गराउने भन्ने कुरा जहिले पनि सोचिरहने प्रशिक्षक हरि ६ पटक जापान पुगिसकेका छन । ‘खेलकुद बाट बिदेश पुगेर उतै लुकेको धेरै सुनेको छु, कसैले त अवैध धन्दा पनि गर्छन भन्ने थाहा पाए, तर आफूले त्यस्तो सोच कहिल्यै राखिएन’ उनी भन्छन–‘सबै खुसियाली यहीं छ किन विदेश पलायन हुनु ?’ आफ्नो घर नहुँदा साथी भाईले गाली पनि गर्छन रे तर उनलाई यसमा पछुतो छैन । फुल कन्ट्याक्ट करातेमा कास्की बाट पहिलो ब्ल्याक बेल्ट पाएकी खेलाडी पवित्रा थापालाई उनले जिवन संगिनीको रुपमा रोजेका छन । मार्शल आर्टमा आवद्ध दुबै जना पती पत्नी भएका कारणले पनि एक अर्काको पिर मर्का पनि बुझिने र खेल जिवन बढाउन निकै सजिलो भएको उनी बताउँछन ।
दुई छोरीका पिता हरि आफ्नो हात खुट्टा चले सम्म खेलकुद बाट पछि नहट्ने बताउँछन । ‘मेरो गुरु नै ७५ वर्षको हुनुहुन्छ उहाँको उमेर संग दाँज्ने हो भने त मैले अझै धेरै गर्नुछ’ उनी भन्छन । बाचुञ्जेल खेलकुद नछोड्ने अठोट लिएका हरी धन सम्पतीलाई त्यती प्रमुख कुरा ठान्दैनन । ‘पैसा नै कमाउने हो भने त धेरै थोक गर्न सकिन्थ्यो तर खेल जिवनको अनुशासनले आफ्नो जिवनलाई समृद्ध बनाउँछ भन्ने कुरा मैले राम्रो संग बुझेको छु त्यही भएर पनि खेलकुद बाटै आफ्नो समुद्धीको सपना पनि देख्छु ।’ दोलखाका हरि पोखरामा बसेर जुन मेहनत गरेका छन त्यो बास्वमै सबैका लागि प्रेरणाको मार्ग पनि बन्न सक्छ ।

नाराज बहादुर खड्का (हरि) जस्ता स्वयंसेबी प्रशिक्षकले एक छाक तितो मिठो खाएर भए पनि नेपाली खेलकुद अघि बढेको छ । मुलुकको खेलकुद निती यति बेला परिमार्जनको पर्खाइमा रहिरहेकै बेला हरि जस्तै स्यवंसेबी प्रशिक्षकका लागि पनि राज्य बाट केही हुन सक्ने गरि निती निर्माण भएमा खेलकुद परिवर्तनले नयाँ गति लिन सक्छ । हरि जस्ता प्रशिक्षकहरुमा दम्भ छैन न त कुनै लोभको । लोभ छ त नेपालमा मार्शल आर्ट खेलको जग बलियो बनाउने । राज्यले यस्ता प्रशिक्षकहरुलाई उचित व्यवस्थापन संगै गर्वित बनाउने खाँचो भने अवश्य नै देखिन्छ ।
