
पोखरा स्पोर्ट्स । नेपालकै प्रतिष्ठित र दीर्घकालीन अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२६ यही फाल्गुन २ गते पर्यटकीय नगरी पोखरामा आयोजना हुने भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा तथा ‘सुजल डेरी प्रा.लि.(सफल दूध)‘ को मुख्य प्रायोजनमा हुन लागेको यस म्याराथनले २०औँ संस्करणमा प्रवेश गरेको हो ।
स्वदेशी तथा विदेशी धावकहरूको सहभागिता रहने म्याराथन पोखरा रंगशालाबाट सुरु भई बाराहीघाटमा पुगेर समापन हुनेछ । मोफसलमै आयोजना हुने सबैभन्दा नेपालकै ठूलो र जेठो म्याराथनका रूपमा परिचित यस प्रतियोगिताले विगत दुई दशकदेखि पोखराको खेलकुद, पर्यटन र स्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।
“स्वास्थ्यको लागि, पोखराको लागि” भन्ने मूल नारासहित आयोजना हुने म्याराथनले पोखराको गरिमा र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुर्याउँदै आएको सुजल डेरीले जनाएको छ ।
प्रतियोगिताको म्याराथन विधातर्फ प्रथम हुने धावकले ४ लाख, दोस्रोले २ लाख, तेस्रोले १ लाख र चौथोले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । स्थानीय प्रतिभालाई प्रोत्साहन गर्न गण्डकी उत्कृष्ट विधा समावेश गरिएको छ भने यसै संस्करणबाट ‘म्याराथन नेपाल’ विधा पहिलोपटक समावेश गरिएको आयोजकले जनाएको छ ।
यसका साथै महिला तथा पुरुष हाफ म्याराथन, १० किमी, ५ किमी छात्र–छात्रा, ४५ वर्ष माथि भेटरान्स, ह्विलचेयर तथा दृष्टिविहीन विधामा पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।
पछिल्लो एक दशकदेखि खेलकुद र स्वास्थ्यसम्बन्धी अभियानहरूमा निरन्तर प्रायोजन गर्दै आएको सफल दूधले उपभोक्ताको स्वास्थ्यप्रतिको भरोसा मजबुत बनाउँदै आएको जनाएको छ । पोखरावासीको स्वास्थ्य प्रवर्द्धन र पोखराको अन्तर्राष्ट्रिय पहिचानका लागि यस म्याराथनसँग जोडिन पाउँदा गर्व महसुस भएको कम्पनीको भनाइ छ ।
सुजल डेरी प्रा.लि.ले सम्पूर्ण पोखरावासीलाई फाल्गुन २ गते आयोजना हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी भई “स्वास्थ्यको लागि, पोखराको लागि” दौडिन आग्रह गरेको छ ।
शारीरिक तन्दुरुस्ती र पौष्टिकताबीचको सम्बन्धलाई आत्मसात गर्दै सफल दूधको सहकार्यले म्याराथनलाई अझ प्रभावकारी र व्यापक बनाउने आयोजकको विश्वास छ ।
