
केशब पाठक,
पोखरा, ५ चैत्र ।
प्रायः सफल व्यक्तिको यात्रा संघर्ष बाटनै सुरु हुन्छ । त्यस्तै खेलकुदमा लाग्ने एक प्रेरणादायी यूवाहुन रुपक नेपाली । भर्खरै २३ को उमेर टेकेका रुपकको खेलकुदको यात्रा १३ वर्षको उमेर बाट सुरु भएको हो । साथीहरुको संगतले उनलाई खेलकुदमा प्रवेश गरायो अनि यात्राको निरन्तरता छ ।
पोखरा महानगरपलिका वडा नं ९ शान्तिवन नजिक डेराको जिबन बिताउने रुपकको जिवन यात्रा निकै संघर्षपूर्ण छ । क्यूकिसन र मुआथाईका खेलाडी रुपकले तिन वर्ष अघि बुवा धुर्ब नेपालीलाई गुमाए भने एक मात्र घरकी सहारा आफ्नी आमा निर्मला नेपालीलाई पनि एक वर्ष अघि गुमाउन प¥यो ।

अहिले रुपक आफ्नी १८ वर्र्षिए बैनी रुपा संग बस्छन । बैनीले ११ कक्षा पढ्दै मार्केटिङको काम गर्छिन । अहिले दुई जनाको गुजारा बैनी रुपाको कमाईले अघि बढेको छ । कोठाको भाडा ५ हजार तिर्नु पर्छ । तर आफ्नो कमाई भने शुन्यप्रायः नै छ । कहिले काही बैनीको कमाईमा हिड्नु पर्दा उनलाई तितो अनुभुती हुन्छ । तर पनि खेलकुद सम्झेर सबै त्यागेका छन उनले ।
रुपकको रम्ने ठाउँ कतै छैन । छ भने पोखरा रंगशालाको ट्रेनिङ हो भने पोखराको एक जिम हल । बिहानै ५ः३० मा रंगशाला छिर्नु अनि ११ बजे सम्म भोको पेटमा प्रशिक्षण गर्नु गराउनु । प्रशिक्षण सकेर त्यही ड्रेसमा कोठमा पुगेर बैनीले पकाएर राखेको चिसो खाना खानु उनको दैनिकी नै हो । तर जे जस्तो भए पनि खेलकुदको आफ्नो यात्रालाई सम्झेर उनी अगाडी बढिरहेका छन । जिम हलमा पनि उनी दिउसो २ बजे छिर्छन अनि राती ८ बजे निस्कन्छन ।
रुपकका गुरु हुन पोखराका करातेका प्रशिक्षक शिब गुरुङ । प्रशिक्षक शिबले रुपकलाई आफू भन्दा जुनिएर खेलाडी प्रशिक्षण गर्ने जिम्मा दिएका छन । उनी खुसी छन र आफू भन्दा जुनिएरलाई प्रशिक्षण गराउन पाउँदा । तर उनलाई प्रशिक्षण बापत हुनै पारिश्रमीक भने पाउदैनन । आफ्नो खेल यात्रालाई निखारता दिन पनि उनले प्रशिक्षण दिएको बताउँछन । केही घन्टा मुआथाईको पनि प्रशिक्षण गराउँछन । दुबै खेलको समिश्रणले उनले आफ्नो खेललाई थप उचाई दिन सफल भएको उनी बताउँछन ।
करातेका व्ल्याक बेल्ट फष्ट डान लिइसकेका रुपकले हाल सम्मको खेल जिवनमा २६ वटा पदक पाएका छन । पदक उनको कोठामा सजिएर बसेका छन । फुर्सदको बेला तिनै पदकलाई सुम्सुमाउन पनि छोडदैनन । ‘भित्रै बाट माया लागेर आउँछ दुःखले जितेको मेडल’ उनी भन्छन । ७ औं राष्ट्रिय खेलकुदमा करातेमा ओपन तर्फ स्वर्ण पदक जितेका रुपक ८ औं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश बाट छनौटमा परेका छन । उनले ८ औं मा समेत पदक पाउने आशाका साथ तयारीमा जुटेका छन ।

आफ्नो खेल जिबनमा रुपकले जापान, चिन, थाइल्याण्ड र भारतमा पुगेर आफ्नो खेल कौशल देखाईसकेका छन । २०१७ मा करातेमा भिड्न उनी जापान पुगे । २०१८ मा चिन र थाइल्याण्डमा प्रोफेशनल मुआथाई खेल्न पुगे । उनी २०१९ को जनवरीमा एशियाली स्तरको कराते च्याम्पियनशिपमा सहभागीता जनाए । जहाँ उनले स्वर्ण पदक हात पारे । ‘विदेश यात्रमा खर्च ठूलो हुन्छ उनी’ भन्छन ‘गुरुहरु र साथीभाईको सहयोगले यात्राको खर्च जुटेको छ तर अन्य खर्चका लागि भने त्यस्तै हो ।’
१२ कक्षा मात्रै पढेका रुपकले खेलकुदमा अघि बढ्ने अभिप्रायले पढाईलाई पनि ब्रेक दिएका छन । उनी भन्छन–‘पढ्ने समयनै हुँदेन कतिबेला पढ्ने कति बेला कलेज जाने मेरो अधिकांश समय रंगशालामानै वित्छ ।’ तर उनलाई पढने रहर भने नभएको होइन । तर समयका कारण पढाई छोड्नु परेको पिडा उनमा देख्न सकिन्छ । उनी आफ्न भावना पोख्छन–‘घर परिबार धान्नुको पिडा पनि छंदैछ, खेलमा फोकश गर्नै पर्यो ।’

कहिं कसैले केही आर्थिक सहयोग गरिदिए देशका लागि खेलकुद बाट केही गर्न सक्छु भन्ने भावना उनको छ । अहिले सम्म राज्यले खेलाडीलाई केही गर्न नसकेको अरुको जस्तै पिडा उनमा पनि बल्झिएको छ । उनी भन्छन–‘हामीलाई प्रशिक्षकको जिम्मेवारी दिए पनि भोको पेट खेल्नु पर्ने थिएन ।’ उनको समस्या यतिमा मात्रै सिमित भने छैन । उनले प्रशिक्षण र खेल्ने बेला लगाउने प्याड, ग्लोभ्स समेत किन्न आफूले खर्च गर्नु पर्ने स्थिती छ । राज्यले कम्तीमा पनि यति सामान उपलब्ध गराइदिए राम्रो हुने उनको भनाई छ ।
रुपक आफ्नो खेलमा यति लगाव छन की ध्यान भड्किन्छ भनेर कुनै पनि सामाजिक संजालहरु चलाउदैनन । न त उनको कुनै फेसबुक एकाउन्ट नै छ । किन त भन्ने प्रश्नमा उनले भने–‘धेरैलाई देखेको छु प्रायः यूबा साथीहरु फेसबुक हेर्दै मोबाइलमा आँखा गाडेको देख्दा नरमाइलो लाग्छ ।’ उनी भन्छन–‘फेसबुकमा रमाउन थाल्ने हो भने त खेलबाट मेरो फोकश आउट हुन सक्छ ।’ यो बानी त्याग्न उनी सल्लाह पनि दिन्छन ।
भर्खरको २३ वर्षे यूबाको खेल जिवनको यात्रा अझै यात्रा लामो नै होला । तर संघर्ष बाट जन्मिएको एक यूबा खेलाडीले आफ्नो सुख सुविधा त्यागेर खेलकुदको यात्रालाई जिवन्त गराउने प्रयास गरेको छ । रुपक नेपाली खेलाडी मात्रै होइनन खेलकुदको जगको दरिलो खम्बा र नेपाली यूबाहरुको प्रेरणाको स्रोत पनि हुन । अहिलेको नेपाली खेलकुद नेतृत्वले पनि रुपक जस्ता खेलाडी उत्पादन गर्न धेरै वर्ष कुर्नु भन्दा खेलकुदलाई आफ्नो जिबनको अभिन्न अंग ठान्ने रुपक जस्तालाई माथी उठाउन सहयोग गर्दै उपयूक्त बातावरण बनाइदिन आवश्यक छ ।
रुपकको कोठाको भित्तामा सजिएका मेडल, प्रमाणपत्र र ट्रफीहरु
Rupak Medals
Posted by PokharaSports.com on Tuesday, March 19, 2019
प्रशिक्षणमा ब्यस्त रुपक नेपाली पोखरा रंगशालामा
Posted by PokharaSports.com on Tuesday, March 19, 2019
