
पोखरा, २ चैत्र ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती र कास्की जिल्ला खेलकुद बिकास समितीका पदाधिकारी र प्रविधिक टोलीले कास्कीका विभिन्न क्षेत्रको खेल मैदान निर्माण सम्पन्न गरी बजेटको कार्यान्वयन गर्न दौडधुपमा लागेका छन ।
यूवा तथा खेलकुद मन्त्रालय अन्र्तगत राष्ट्रिय खेलकुद परिषदले यस आर्थिक वर्षमा उपलव्ध गराएको १ करोड ३५ लाख बजेट कार्यान्वयन गर्न स्थलगत अध्ययन तथा उपभोक्ता समिती समेत गठन गरि काम सम्पन्न गर्न लागि परेको अध्ययन टोलीले जनाएको छ ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठको नेतृत्वमा गएको अध्ययन टोलीले एक निर्वाचन क्षेत्र एक खेल मैदानको नीति अनुरुप कास्कीको भदौैरे स्थित बहादुरे मावि, अन्नपूर्ण गाँउपालिकाको बहाकोट, घान्द्रुक र पोखरा महानगर पालिका वडा नं २५ को तल्लो हेमजामा स्थलगत अध्ययन एवं अनुगमनसँगै प्रस्तावित खेल मैदानको सर्भे समेत गरिएको हो ।
टोली नेता एवम पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष श्रेष्ठले पोखरा फर्के पछि लगतै पोखरा स्पोर्टस संग कुरा गर्दै सर्भे गरिएको खेल मैदान निर्माणलाई पूर्णता दिन स्थानीय उपभोक्ता समिति समेत गठन गरेर जिम्मेवारी दिइने बताए । उनले भने–“यही चैत ८ गते सम्म सबै निर्माणहुने परियोजनाहरुका उपभोक्ता समिती गठन गरि सक्छौ र कामको जिम्मेवारी दिने छौ ।”
अध्यक्ष श्रेष्ठका अनुसार अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक स्थित मेश्रम बराह माविको खेल मैदानलाई फुटबल मैदान निर्माण गर्न सर्भे समेत सम्पन्न गरी स्थानीय उपभोक्ता समितिलाई जिम्मेवारी दिइएको छ । उक्त मैदान निर्माण गर्न उपलब्ध १५ लाख रुपैयाँ सम्झौता गर्ने गरि निर्माणको जिम्मेवारी दिइएको हो । उक्त मैदानको १०० मिटर लम्वाई र ६८ मिटर चौडाइ रहने छ ।
घान्द्रुक स्थित मेश्रम बराह माविको खेल मैदानलार्ई भावी दिनमा हाई अल्टिच्यूटको तल्लो तहको खेल मैदानको रुपमा अघि बढाइन सकिने कास्की जिल्ला खेलकुद बिकास समितीका कोषाध्यक्ष दिपक गोदारले बताए । उक्त निर्माण कार्य सम्पन्न गर्न रक्ष गर्न गुरुङको संयोजकत्वको ७ सदस्यिय निर्माण समिती गठन गरिएको छ ।
टोलीले भदौरेको बहादुरे माविमा बास्केटबल कोर्ट र अन्नपूर्ण गाँउपालिका ८ स्थित बहाकोटमा भलिबल कोर्ट, घम्पुसस्थित पृथ्वीनारायण माविको खेल मैदान र पोखरा २५ स्थित दिव्य ज्योती खेल मैदानलाई समेत निरिक्षण गरेर पोखरा फर्किएको छ । धम्पुस स्थित पृथ्वीनारायण माबीको खेल मैदानमा ग्याभिन जालीमा माटो भरेर फराकिलो बनाउन १० लाख बजेट आएको छ भने दिव्य ज्योती खेल मैदानका लागि समेत फराकिलो बनाउन १० लाख बजेट विनियोजित भइसकेको छ ।
अन्नपूर्ण गाउँपािलका स्थित धावा खेल मैदान निर्माण गर्न १० लाख बजेट आएको छ । उक्त खेल मैदान निर्माण काम अघि बढाउन सन्तोष जिशीको अध्यक्षतामा ५ सदस्यिय उपभोक्ता समिती गठन गरिएको कोषाध्यक्ष गोदारले जानकारी दिए ।
उक्त टोली आइतबार समेत बाटुलेचौरको खेलमैदान, घार्मीको खेल मैदान र माछापुच्छ्रे वडा नं २ स्थित भुर्जुङ खोला खेल मैदानको निरिक्षण भ्रमणमा जाने कोषाध्यक्ष गोदारले जानकारी दिए
