
पोखरा, २१ फागुन । पोखरामा दिनदिनै प्याराग्लाइडिङ दुर्घटना भएको छ । आइतबार रोमानियाली नागरिकको मृत्यु, सोमबार दुई विदेशी घाईते भएकोमा आज फेरि एक रसियन नागरिकले ज्यान गुमाएका छन् । तीन दिनमा चार वटा प्याराग्लाइडिङ दुर्घटना भएको हो ।
पोखरा १८, सराङकोटबाट उड्ने क्रममा रसियन नागरिक बीएमआई जीभीआइएलको ज्यान गएको वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए । उनको उपचारको क्रममा मेट्रोसिटी हस्पिटलमा मृत्यु भएको हो ।

नियामक निकायको निकम्मापनले पोखराको आकाश असुरक्षित रुपमा चिनिने खतरा छ । आफ्नो देशमा भन्दा सुरक्षित मान्दै विदेशीहरु वर्षेनी पोखराको आकाशमा प्याराग्लाइडिङ उडान भर्न सयौँको संख्यामा आउँछन्। पोखराको आकाशमा साहसिक खेल प्याराग्लाइडिङको प्रिवल्र्डकप पनि तीन पटक भइसकेको छ । त्यसैले, विदेशी प्याराग्लाइडरको रोजाइमा पोखराको आकाश परकेो छ । यहाँको नियामक निकायको लाचारीपनको फाइदा उठाउँदै दुरुपयोग पनि बढ्दो छ । अहिले पोखराको आकाशमा झण्डै ३०० सय विदेशी ब्यक्तिगत रुपमा प्याराग्लाइडिङ उडानको मात्र अनुमति लिएर प्रतियोगितामा भाग लिइरहेको बताइन्छ ।
रसियन नागरिक इजोभ काजकोभले ‘ओपन हिमालयन’ नाम दिएर अहिले विदेशीहरु बिच पोखरामै प्याराग्लाइडिङ प्रतियोगिता गरिरहेको बुझिन्छ । तर, लाजमर्दो कुरा नेपाल सरकारको कुनै पनि निकायसँग अनुमति पनि लिएका छैनन्। गत फागुन १५ गतेबाट सुरु उक्त हिमालयन कपमा सहभागी विदेशीसँग आयोजकले प्रतिब्यक्ति २५ यूरो रकमसमेत उठाएका छन्। नेपाल हवाई खेलकुद सस्था (ना) पनि प्रतियोगिताबारे केहि जानकारी नभएको बताउँछ ।
गत फागुन १९ गते रोमानियाका एक नागरिकले उडाएको प्याराग्लाइडिङ फेवातालमा खसेर उनको मृत्यु भएको थियो । त्यस्तै २० गते पनि कास्कीकै माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा र मादी गाउँपालिकाको छाचोकमा दुर्घटनामा परेका थिए ।
Note: File Photo
