२३ औं आहा ! रारा पोखरा गोल्डकपमा १५ लाख भन्दा बढि घाटा, हाल सम्मकै उच्च घाटा !

पोखरा स्पोर्टस । विश्वभर फैलिएको कोभिड १९ मा समेत सञ्चालन भएको आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा खासै घाटा नब्यहोरेको सहारा क्लब पोखराले २३ औं सस्करणमा ठूलो घाटाको सामना गरेको छ ।

क्लबले बिहिबार २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा १५ लाख ३३ हजार ९०७ रुपैयाँ घाटा भएको जनाएको हो । आहा! रारा पोखरा गोल्डकपकै इतिहासमा घाटा भएको यो रकम हाल सम्मकै उच्च हो । प्रतियोगिता सकिएको झण्डै ७ महिना पछि आय–व्यय सार्वजनिक गरेको क्लबले आम्दनीतर्फ ९९ लाख ९५ हजार ४५१ रुपैयाँ भएको जनाएको छ ।

सहारा क्लब पोखराले पोखरा १७ मा सञ्चालन गरेको सहारा एकेडेमीको सहयोगार्थ वर्षेनी हुँदै आहा रारा गोल्ड कप मोफसलकै चर्चित फुटबल प्रतियोगिता मध्येको एक हो । नेपाली फुटबल इतिहासमा अनवरत रुपमा सञ्चालन भएको गोल्ड कपको यो घाटा रकमले पोखराको मात्रै नभई देशकै फुटबल (खेल क्षेत्र) मात्रै नभई आम जनमानस र व्यवसायीहरुको आर्थिकस्थिती खस्किंदो अवस्थामा छ भन्ने प्रमाणित भएको छ ।

युके, अस्ट्रेलिया, हङकङ हुँदै विश्वभरीबाट संस्थागत तथा व्यक्तिगत रुपमा आहा रारा गोल्डकपका लागि सहयोगी हातहरु जोडिएका छन् । त्यसै गरी नेपालमा चाउ–चाउ उद्योगमा स्थापित आहा रारा, गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिकालगायत दर्जनौं प्रयोजक र उपप्रायोजक समेत प्रतियोगितामा सहयोगी छन् ।

नेपाली फुटबल विकासमा २०५८ साल देखि अग्रणी भूमिका खेल्दै आएको सहारा क्लबले २३ औं सस्करणमा भएको घाटा पूर्ती कसरी गर्छ भन्ने विषय भविष्यमा प्रमाणित हुनेछ । पोखरेली फुटबल प्रेमीहरुको मन मस्तिस्कमा बस्न सफल आहा रारा पोखरा गोल्डकप तथा यसका साथै दाताहरुकै सहयोगबाट सञ्चालित सहारा एकेडेमी र त्यहाँ रहेका विपन्न वर्गका बालकहरुको भविष्य के हुने भन्ने प्रश्न पनि संग–संगै उव्जिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close