
पोखरा, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा (सुनार)ले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विरुद्धको अभियानमा युवा तथा खेलाडीलाई परिचालन गर्ने बताएका छन ।
सामाजिक दूरी कायम राख्दै बाचौँ र बचाऔँ भन्ने अभियानमा सहभागि हुन युवा तथा खेलाडीलाई आह्वान गर्दै मन्त्री विश्वकर्माले कोरोना विरुद्ध जनचेतना बढाउने, विदेशबाट फर्किएका वा सम्भावित संक्रमितका बारेमा जानकारी गराउने, उनीहरुलाई क्वारेन्टाइनमा बस्न आग्रह गरी आवश्यक सहयोग गर्ने लगायतका कार्यमा युवा, खेलाडी, स्काउटलाई स्वयमसेवकका रुपमा सामाजिक दूरी कायम राख्दै सावधानी पूर्वक परिचालित हुन आग्रह गरेका हुन ।
कोरोनाको महामारी सिङ्गो मानव जातिको अस्तित्व माथिको चूनौती रहेकाले सङ्क्रमण विरुद्ध जुध्नु अहिलेको आवश्यकता रहेको बताउँदै उनले भनेका छन–“समाजको सचेत तप्का भएका हिसावले युवा र खेलाडीमाथि सबैको भरोसा छ । गाउँ, टोल, वडा समाजमा जो जहाँ छौँ, तहीँ सावधानी पूर्वक अप्ठ्यारोमा परेकाहरुको उद्धार तथा राहत वितरणमा स्वयमसेवकीय भूमिका निर्वाह गरौँ ।”
सक्रमण नियन्त्रणको अभियानमा देशभरका युवा, विभिन्न राजनीतिक दलका भ्रातृ सङ्गठनमा आवद्ध युवा, खेलाडी, स्काउट र युवा तथा साना व्यवसायी स्वरोजगार कोषका जिल्ला जिल्लाका स्वयम्सेवकहरुलाई आवश्यकता अनुसार स्वयम्सेवकीय भूमिकामा आ–आफ्नो ठाउँमा परिचालनका लागि प्रदेश सरकार र स्थानीय तहलाई सरकारले आग्रह गरिसकेको समेत उनले जानकारी दिएका छन ।
लक्षित समूहको तथ्याङ्क सङ्कलन र राहत वितरणमा स्वयम्सेवकीय भूमिका निर्वाह, अफ्ठ्यारोमा परेका व्यक्तिहरुको सूचना सङ्कलन र उद्धार, आवश्यकता अनूसार बिरामीलाई अस्पताल सम्म पु¥याउन, सबैलाई स्फूर्ति राख्न सम्भव भएसम्म घरमै शारीरिक व्यायाम, योग, ध्यान र अभ्यास तथा सडक मानवको उद्धार गरी जीवन रक्षामा सघाउन समेत युवाहरुको महत्वपूर्ण भूमिका रहने मन्त्री विश्वकर्माले औल्याएका छन ।
मन्त्री परिषद बाट कोरोना सङ्क्रमण विरुद्धको अभियानमा राहत वितरण लगायतका कार्यमा युवा, खेलाडी तथा स्काउटहरुलाई स्वयमसेवकको रुपमा परिचालन गर्ने जिम्मेवारी समेत प्राप्त गरेका मन्त्री विश्वकर्माले युवा परिचालन, योजना निर्माण तथा कार्यान्वयनका र आवश्यक समवन्यका लागि स्वयमसेवक व्यवस्थापन तथा परिचालन समिति गठन गरेर काम अघि बढाएको जानकारी दिए ।
कोरोना सङ्क्रमण रोकथाम,नियन्त्रण तथा उपचार, क्वारेन्टाइन निर्माण तथा राहत वितरण लगायतका अभियानमा प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर स्वयमसेवकको परिचालनका लागि युवा परिचालनको जिम्मेवारी राष्ट्रिय युवा परिषद्, खेलाडी परिचालनका लागि राष्ट्रिय खेलकूद परिषद् र स्काउट परिचालनको जिम्मेवारी नेपाल स्काउटलाई दिइएको बताइन्छ ।
कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण विभिन्न खेलका प्रतियोगिता स्थगन, खेल पूर्वाधार निर्माण तथा आगामी वर्ष गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूदको तयारीका काम प्रभावित भएको खेलकूद मन्त्रीको भनाई छ ।
खेल क्षेत्रमा तत्काल राहतको आवश्यकता नरहेपनि महामारीको अवधिलाई हेरेर त्यसपछि दीर्घकालिन खेल क्षेत्रमा परेको नकारात्मक असरबाट खेल क्षेत्रलाई जोगाउन र विकास र विस्तारको गतीलाई तीव्रता दिन राहत प्याकेज बनाएर अघि बढ्ने उनको भनाई छ ।
तात्कालीन खेलकूदमा कोरोना प्रभाव नदेखिएपनि दीर्घकालिन रुपमा भने यसले खेल क्षेत्रलाई स्वभाविक प्रभाव पार्ने निश्चित रहेको कुरा औल्याउँदै मन्त्री विश्वकर्माले भनेका छन–“खेल क्षेत्रमा पर्ने नकारात्मक असर र प्रभावबाट जोगाउँदै विकास र विस्तारको स्वभाविक गतिमा ल्याउन राहतका कार्यक्रमहरु भोलीका दिनमा केन्द्रीत गरेर जानुको विकल्प छैन ।”
कोरोनाको सङ्क्रमण फैलनबाट रोक्नका लागि सङ्घीय सरकारले आत्मसात् गरेका कार्यक्रमहरुलाई प्रदेश र स्थानीय तहले योजनाबद्ध ढङ्गले अघि बढाउँदै प्रशंसनीय कार्य गरेको र जोखिम न्यूनीकरण तथा प्रभावितहरुलाई राहत वितरणमा महत्वपूर्ण भूमिका खेलेबाट संघीयताको प्रत्यक्ष अनुभूति जनतामा भएको उनले बताए ।
राहत वितरण, लकडाउन कार्यायन्वका लागि प्रदेश र स्थानीय तहले सङ्घीयताको मर्म अनुसार काम गरेको उल्लेख गर्दै मन्त्री विश्वकर्माले थपे–“अहिलेको अवस्थामा प्रदेश र स्थानीय तहले खेलको भूमिका प्रसशंनीय छन् । सरकार जनताको घर आगँनमा लैजानका लागि तीन तहको सरकारका भूमिका प्रभावकारी देखिएको छ ।”
लकडाउनको दुःखद परिस्थितिको सामना गर्नुपरेकाले १३ औँ दक्षिण एशियाली खेलकूद(साग) मा विजयी खेलाडी, प्रशिक्षक तथा खेल सङ्घहरुलाई सरकारको तर्फबाट घोषणा गरिएको पुरस्कार वितरण र सम्मानको कार्यक्रम प्रभावित भएपनि मन्त्रालयको तर्फबाट खेलाडीहरुलाई घोषित पुरस्कार रकम सम्वन्धित व्यक्तिको बैँङ्क खातामा जम्मा गर्ने प्रक्रिया शुरु भएको उनले जानकारी दिए ।
मन्त्रालयको लेखा शाखाका सीमित कर्मचारी सामाजिक दूरीका साथ व्यक्तिगत खेलका विजेता र सामूहिक खेल विधाका विजेता खेलाडीले पाउने पुरस्कारको रकम जम्मा गर्ने काममा खटिइरहेकाले दुई/तीन दिनभित्रमा सबै खेलाडीले प्राप्त गर्नुपर्ने पुरस्कार रकम उनीहरुको बैँङ्क खातामा जम्मा भईसक्ने मन्त्री विश्वकर्माले स्पष्ट पारे ।
–कृष्ण दवाडी
