
पोखरा स्पोर्टस । नवौं संस्करणको ‘पोखरा स्पोर्टस्’अवार्ड २०८१’ आगामी बैशाख २० गते हुने भएको छ ।
अवार्ड कार्यक्रमको तयारी स्वरुप बुधबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यहरुको बृहत भेला आयोजना गर्दै तयारी सुरू गरिएको हो ।
पोखरा रंगशाला स्थित जिल्ला खेलकुद विकास समिति कास्कीको सभाहलमा आयोजित भेलाका सहभागीले अवार्ड कार्यक्रमलाई व्यवस्थित बनाउँदै ब्राण्डको रुपमा स्थापित गराउनुपर्नेमा सहभागिहरुले जोड दिएका छन् । सोही भेलाले मञ्चका अध्यक्ष एमबि आस्था संयोजक र राजाराम पौडेल सहसंयोजक रहेको मुल आयोजक समिति तथा विभिन्न १२ वटा उपसमितिका संयोजक समेत चयन गरेको छ ।
जसमा आर्थिक संकलन उपसमिति संयोजकमा बिमल तिवारी, प्रचार–प्रसार उपसमिति संयोजकमा राजु गिरी, अन्तर्राष्ट्रिय समन्वय उपसमिति संयोजक दीननाथ बराल, संघसंस्था समन्वय उपसमिति संयोजक कृष्ण दवाडी, स्वयंसेवक परिचालन उपसमिति संयोजक प्रविन मगर, साँस्कृतिक कार्यक्रम उपसमिति संयोजक राजाराम पौडेल, स्वागत सत्कार उपसमिति संयोजक एकराज गिरी, फोटो तथा भिडियोग्राफी उपसमिति बसन्त शेर्पा, क्विक रेस्पोन्स उपसमिति संयोजकमा शशीकुमार पौडेल, मञ्च व्यवस्थापन उपसमिति संयोजकमा सन्देश श्रेष्ठ, चिठीपत्र तथा निमन्त्रणा उपसमिति संयोजकमा कविता घर्ती मगर, मुल्यांकन तथा अनुगमन उपसमिति संयोजकमा रामकृष्ण ज्ञावाली रहेका मञ्चका महासचिव परशुराम आचार्य शर्माले जानकारी दिए ।
उपसमितिमा आवश्यकताको आधारमा सदस्य थप गर्ने अधिकार संयोजकलाई दिइएको मञ्चका अध्यक्ष एमबि आस्थाले जानकारी दिए । प्रतिभा छनोट समिति र उत्कृष्ट खेल पत्रकार छनोट समिति पछि चयन गर्ने मञ्चले जनाएको छ ।
अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिनेछ ।
खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आएको छ ।
