दोस्रो अन्नपूर्ण महोत्सबको मुख्य आकर्षण अन्नपूर्ण म्याराथन हुने

पोखरा ३१ वैशाख । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा हुने दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तयारी तिव्र पारिएको छ ।

गत वर्ष झैं दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०७६ को मुख्य आकर्षण अन्नपूर्ण म्याराथन हुनेछ, । खेल पर्यटनको विकास र विस्तारमा थप टेवा पुगोस् भन्ने हेतुले गतवर्षदेखि आरम्भ गरिएको म्याराथनलाई यसवर्ष पनि निरन्तरता दिने तयारी गरिएको हो । यस वर्षदेखि दोस्रो अन्नपूर्ण म्याराथनलाई अन्तर्रािष्ट्रय इभेन्टका रूपमा लैजाने प्रयास गरेको ललित गुरुङले बताए । म्याराथनको लागि नेपाल एथेलेक्टिस संघसँग समन्वय गरी अन्तर्रािष्ट्रय धावकहरू सहभागी गराउन पहल समेत गरिएको छ ।

जेठ १७ देखि २० गतेसम्म चल्ने महोत्सवको आकर्षकको रुपमा रहेको म्याराथनमा प्रथम हुनेले नगद एक लाख पाँच हजार, द्वितीय हुनेले ७५ हजार र तृतीय हुनेले ५५ हजार रुपैयाँका साथमा पदक र प्रमाणपत्र प्राप्त गर्नेछन । महोत्सवमा क्लब स्तरीय पुरुष भलिबल, खुल्ला महिला भलिबल, क्लब स्तरीय पुरुष बास्केटबल भेट्रान भलिबल, वडा स्तरीय रस्साकसी, छेलो तथा विधालय स्तरीय निबन्ध लेखन प्रतियोगिता हुने महोत्सवका प्रचारप्रसार संयोजक टंकराज अधिकारीले बताए ।

अन्नपूर्ण आधारशिविरबाट शुरुहुने म्याराथन माछापुच्छ«ृे आधारशिविर, वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, टाँडापानी, भैंसीखर्क हुँदै घान्द्रुकमा समापन हुने गरी म्याराथन रुट कायम गरिएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवका महासचिव दिलिप गुरुङले जानकारी दिए । फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले जुन ३ मा अन्नपूर्ण हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको सन्दर्भमा उक्त दिनलाई अन्नपूर्ण आरोहण दिवस मनाउने गरिन्छ ।

अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकास गरी पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले गतवर्षदेखि आरम्भ गरिएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवलाई निरन्तरता दिदै महोत्सव गर्न लागिएको हो । महोत्सवलाई एकै चरणमा सम्पन्न गर्ने गरी तिव्र रुपमा तयारीमा जुटिरहेको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक  गुरुङ्गले जानकारी दिए । ‘गतवर्षको महोत्सवबाट प्राप्त उपलब्धिले हामी थप उत्साहित भएका छौं, महोत्सव अवधिभर घान्द्रुक आउने पर्यटकलाई प्याकेजको व्यवस्था समेत गरेका छौं’, गुरुङले भने ।

गत वर्ष विभिन्न तीन चरणमा महोत्सव गरिएको थियो भने यस वर्ष भने एकै चरणमा हुन लागेको हो । गत वर्ष प्रथम चरणः २०७४,असोज २५ गते अन्नपूर्ण आधार शिविर, दोस्रो चरणः २०७४, पुस १० देखि १५ सम्म छोम्रोङमा र तेस्रो चरणः २०७५ जेष्ठ १७ देखि २० गतेसम्म घान्द्रुकमा सम्पन्न भएको थियो ।

गत फागुन १५ गते आएको भीषण हिमआँधीका कारण अन्नपूर्ण आधारशिविरका होटलहरुमा ठूलो क्षति पुगेको छ । लामो समयसम्म हिउँ नपग्लिएका कारण पुनः निर्माण गर्न प्राविधिक कठिनाई परिरहेको छ । पुनः निर्माणको कार्यलाइ महोत्सव अगावै सक्ने लक्ष्य भएपनि हाललाई असम्भव जस्तै देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close