पोखरा लामाचौरमा महिला तथा पुरुष भलिबल भदौ ३० गते देखि

पोखरा स्पोर्टस । नेपाली महिलाहरुको पर्व तिजको अवसरमा हुने लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगितामा कुल १० टिमको सहभागिता हुने भएको छ ।

नव आदर्श सामुदायिक समाज लामाचौरको आयोजनामा आगामी भदौ ३० गते देखि असोज १ गते सम्म सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ ५ र पुरुषतर्फ ५ टिम गरी कुल १० टिमको सहभागिता हुने भएको हो ।

समाजका अध्यक्ष स्वागत सिंह भण्डारीका अनुसार महिलातर्फ ३ विभागिय टोली नेपाल आर्मीको त्रिभुवन क्लव, सशस्त्र प्रहरीको एपिएफ क्लव, नेपाल पुलिस क्लव, न्यू डायमण्ड र न्यू एभरेष्ट भलिबल क्लव बुटवलको सहभागिता हुनेछ । गण्डकी प्रदेशको महिला टिमको यस पटक भने सहभागिता नहुने समाजले जनाएको छ । 

त्यसै गरी पुरुषतर्फ ३ विभागिय टोली नेपाल आर्मीको त्रिभुवन क्लव, सशस्त्र प्रहरीको एपिएफ क्लव, नेपाल पुलिस क्लव, गण्डकी प्रदेश र मणीमुकुन्द क्लव बुटवलको सहभागिता हुने छ ।

प्रतियोगिताको प्रारम्भिक तयारी सुरु गरेको समाज यति बेला आर्थिक सहयोग जुटाउनमा व्यस्त रहेको अध्यक्ष भण्डारीले पोखरा स्पोर्टसलाई बताए । उनले भने–“हामी यति बेला प्रारम्भिक तयारीमा छौं । हामीले प्रतियोगितालाई भब्य बनाउन आर्थिक संकलनमा व्यस्त छौं । तर आर्थिक मन्दीका कारण विगत जस्तो सजिलो छैन ।”

समाजले भलिबल प्रतियोगिता संगै अन्तर महिला समुह तिज गित प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, सितेरियो प्रतियोगिता, स्रष्टा सम्मान, सांस्कृतिक कार्यक्रमहरु समेतको तयारी गरेको छ । ति कार्यक्रमहरु सम्पन्न गर्न ५० लाख ७७ हजार खर्च लाग्ने अनुमान संस्थाले गरेको छ ।

राष्ट्रिय भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतिय हुने टिमले क्रमश नगद रु १ लाख ५० हजार १११, १ लाख १११ र ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट विद्यागततर्फ समेत नगद पुरस्कार वितरण गरिने समाजले जनाएको छ ।

नव आदर्श सामुदायिक समाज २७ वर्ष अघि स्थापित संस्था हो । समाजले विगत २५ वर्ष देखि निरन्तर भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ । विगतमा महिलातर्फ मात्रै आयोजना हुँदै आएको प्रतियोगिता केही वर्ष यता पुरुषतर्फ समेत जोडिएको छ ।

फायल तस्विर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close