
पोखरा, १४ माघ ।
सहारा हङकङले अस्पताल निर्माण गर्न ३० लाख रुपैयाँ सहयोग गरेको छ । सेप्टेम्बर २८ मा गरिएको हाईकिङ र च्यारिटी नाइट डिनर कार्यक्रमबाट बचत भएको रकम रासकोटको सामुदायिक अस्पतालमा ३० लाख र सहारा एकेडेमीमा रहेका विपन्न बर्गका बालकहरुको सहयोगार्थ ५ लाख सहयोग गरिएको अध्यक्ष दिपक गुरुङले जानकारी दिएका छन ।
हाईकिङ र च्यारिटी नाइट डिनर कार्यक्रमको आय व्यय सार्वजनिक गर्दै अध्यक्ष गुरुङले नाईट डिनर र च्यारिटी पदयात्राका सम्पूर्ण खर्चहरु कटाएर ७८ हजार २ सय १५ हङकङ डलर बचत गरेको जानकारी दिएका हुन ।
कार्यक्रममा संञ्चारकर्मी लामिछानेले कर्णालीको कालिकोटमा रासकोट सामुदायिक अस्पताल निर्माणको लागि सहयोगको अपिल गरेका थिए । उक्त अपिललाई मध्यनजर गर्दै हङकङमा रहेका नेपालीहरुले ब्यक्तिगत तर्फबाट र विभिन्न संघसस्थाहरुको तर्फबाट संकलन भएको २७ लाख ८४ हजार १ सय ६९ रुपैया नेपाल पठाईसकिएको र बाँकी रहेको २ लाख ८५ हजार रुपैया चाँडै पठाईने प्रमुख सल्लाहकार दुर्गा गुरुङले बताए ।
सुरुदेखि नै खेलकुद, सामाजिक कार्य र अभावमा जीवन बाँचेकाहरुका लागि सहयोगका विभिन्न कार्यक्रमहरु गरिरहेको सहाराले पोखरामा परिवार गुमाएका अनाथ बालबालिकाहरुका लागि सहारा एकेडेमी स्थापना गरेको छ । जसमा विभिन्न जिल्लाका २८ जना बालकहरु अध्यापन संगै फुटबल प्रशिक्षण गर्दै आएका छन ।
२०५८ सालमा स्थापना भएको एकेडेमी विभिन्न ब्यक्ति तथा संस्थाको सहयोगमा सञ्चालन हुन्छ । सहारा हङकङ पोखरामा रहेको सहारा क्लवको शाखा संस्था हो भने हङकङमा सामाजिक क्षेत्रमा अग्रणी भूमिका खेलेको छ ।