
पोखरा, कोल्मा बाहाकोट सम्पर्क मञ्च, स्याङजाले आयोजना गरेको “दोश्रो कोल्मा बाहाकोट क्रस कन्ट्री दौड”को उपाधी पर्वतका अनिष थापा मगरले जितेका छन ।
लिग लिग कोट दौडको समेत उपाधी जितेका थापाले ३१ किलोमिटर दौड १ घन्टा २५ मिनेट २० सेकेण्ड पुरा गर्दै नगद ५० हजार हात पारे ।

यसै गरि सोलुखोम्बुका सुमन कुलुङ राईले ३१ किलोमिटर दौड पुरा गर्न १ घन्टा २८ मिनेट ३७ सेकेण्ड लगाउँदै दोश्रो भए भने गोर्खाका भिम बहादुर गुरुङले १ घन्टा ३२ मिनेट ४७ सेकेण्डमा दौड पुरा गर्दै तेश्रो स्थान हासिल गरे । दोश्रो र तेश्रो हुने राई र गुरुङले क्रमश नगद ४० र ३० हजार प्राप्त गरे ।

यता १४ किलोमिटर दौडमा एपिएफका निरज भट्ट प्रथम भएका छन । उनले १४ किलोमिटर दौड १ घन्टा ५३ सेकेण्डमा पुरा गर्दै नगद २० हजार हात पारे । यसै गरि सोही दौड अन्तरगत पर्वतका प्रेम पौडेलले १ घन्टा ५ मिनेट ५५ सेकेण्डमा दुरी पार गर्दै दोश्रो र तनहुँका शाहस पन्थले १ घन्टा ६ मिनेट ४८ सेकेण्डमा दुरी पार गर्दै तेश्रो भए । दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने धावकले क्रमश नगद १५ र १० हजार प्राप्त गरे ।

विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवाल, नेपाली सिने जगतका महानायक राजेश हमाल, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, एनआरएन बेलायत राज्य समितीका उपाध्यक्ष एवम कोल्मा निवासी एलविजेड् गुरुङ, सहारा यूकेका संस्थापक लोक गुरुङ लगाएतले नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

स्याङजा पुतलीबजार नगर पालिका चिरुवा बाट सुरु भएको दौड विभिन्न भाग परिक्रमा पश्चात कोल्मामा पुगेर सम्पन्न भएको थियो । कार्यक्रममालाई सम्वोधन गर्दै राखेप सदस्य सचिब सिलवालले गाउँलेहरुले मिलेर खेलकुद विकासका लागि गरेको कार्यको प्रशंसा गर्दै कोल्मालाई साइक्लिङ खेल क्षेत्रको रुपमा बिकास गर्न सकिने योजना समेत सुनाए ।

यस अघि प्रतियोगिताको उदघाटन गण्डकी प्रदेश सांसद दिपक चर्ती मगर र महानायक हमालले शंयूक्त रुपमा उद्घाटन गरेका थिए । प्रतियोगितामा कुल ८६ जनाको सहभागिता रहेको थियो । सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती लगाएत स्थानिय लोपन्मुख भाकाका गित हरु प्रस्तुत गरिएको थियो । समापन कार्यक्रम सम्पर्क मञ्चका अध्यक्ष जित बहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।
