
काठमाडौं सम्वादाता । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाईस विधाको मनोनायन सार्वजनिक गरेकोे छ ।
शुक्रबार एनएसजेएफले पत्रकार सम्मेलन गरी पिपल्स च्वाईस विधाको मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो ।मनोनयनमा पौडीकी गौरीका सिंह, बास्केटबलकी सदीना श्रेष्ठ, भलिबलकी कप्तान अरुणा शाही, फुटबलकी सावित्रा भण्डारी र करातेका मन्डेकाजी श्रेष्ठ छन् । मनोनित मध्ये सावित्रा भण्डारी दोस्रो पटक पिपुल्स च्वाइस विधामा मनोनयनमा परेकी हुन् । उनी २०७५ को स्पोर्टस अवार्डको मनोनयनमा परेकी थिइन् ।
सावित्राले २०७५ मा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड हात पारेकी थिइन् भने बाँकी खेलाडी पहिलो पटक यो विधाको मनोनयनमा परेका हुन् । गत वर्ष काठमाडौं, पोखरा र जनकपुरमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा उत्कृष्ट प्रदर्शन गरेको चर्चित खेलाडीहरु मनोनित गरिएको एनएसजेएफका सचिव तथा खेलाडी छनोट समितिका संयोजक गोविन्द रेग्मीले बताए ।
मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट ई–सेवा भोटिङ, फेसबुक लाईक, आयोजक संस्थाका पत्रकारको भोट र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटका आधारमा हुनेछ । भोटिङ्गका लागि ई–सेवाको एप डाउनलोड गरेर खेलाडीको प्रोफाईलमा गएर भोट गर्न सकिनेछ । भोटिङ्ग शुक्रबारबाटै सुरु भई पुस २७ गते राति १२ बजेसम्म खुल्ला रहने बताईएको छ ।
कोरोना महामारीका वावजुत पनि आयोजना हुन लागेको अवार्डको मनोनयनमा परको खेलाडीहरुले खुसी व्यक्त गरे । ‘अवार्डको मनोनयनमा पर्दा उत्साहित छु, यो अवार्डले खेलाडीलाई मेहनत गर्न प्ररेणा दिने विश्वास लिएको छ’ करातेका मन्डेकाजीले भने ।
यस्तै, रजत पदक विजेता बास्केटबलकी कप्तान सदीना श्रेष्ठले मनोनित गरेकोमा एनएसजेएफलाई धन्यवाद दिदै आफुलाई जिताउन आफ्ना समर्थकलाई आग्रह गरेकी छन् । ‘म र मेरो बास्केटबल परिवारका लागि यो खुसीको खबर हो, मनोनयन गर्नु भएकोमा धन्यवाद,’ सदिनाले भनिन् । नेपाली भलिबल इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता कप्तान अरुणा शाहीले आफ्नो मनोनयन अरु खेलाडीका लागि प्रेरणा बन्ने बताएकी छन् । ‘यसले खेलाडीलाई हौसला दिन्छ । मलाई मनोनयन गरिदिएकोमा धन्यवाद,’ शाहीले भनिन् ।
फुटबलकी सावित्रा भण्डारीले भनिन्, ‘सबैले मलाई पहिलेदेखि साथ दिँदै आइरहनु भएको छ र आगामी दिनमा पनि साथ पाउनेमा विश्वस्त छु ।’ पल्सर स्पोर्टस अवार्ड पुस २८ गते सेमि भर्चुअल माध्यम मार्फत् हुनेछ ।
अवार्ड अब ग्लोबल
एनएसजेएफले शुक्रबारनै विधुतिय सेवा प्रदायक कम्पनी ई–सेवासँग पनि सम्झौता गरेको छ । ई–सेवासँगको सम्झौता पत्रमा एनएसजेएफका महासचिव प्रज्वल ओली र ई–सेवाका सिओओ रोशन लामिछानेले हस्ताक्षर गरेका हुन् । पिपुल्स च्वाइस अवार्डका मनोनित खेलाडीलाई ई–सेवामार्फत् भोट गर्ने व्यवस्था गरेको छ ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै ई–सेवा सिओओ लामिछानेले विश्वभर रहेका ई–सेवाका प्रयोगकर्ताले आफुलाई मन पर्ने खेलाडीलाई भोट गर्न सकिने ब्यवस्था गरिएको बताए । ‘फुटबल र क्रिकेटमा लामो समयदेखि काम गर्दै आएका थियौ । अब खेलाडीको प्रवद्र्धन गर्ने अभियानमा जोडिन पाएका छौ’ उनले भने ।
