ईटालीको युनिभर्सियाड जाने नेपाली टोलीलाई बिदाई

पोखरा, १५ असार । मित्र राष्ट्र ईटालीको नेपोलीमा आयोजना हुने ३० औं समर युनिभर्सियाड २०१९ मा सहभागि हुन जाने नेपाली टोलीलाई आईतबार एक कार्यक्रमविच माननिय सांसद एवं पूर्व मन्त्री लेखराज भट्टले बिदाई गरे ।

जुलाई ३ देखि १४ तारिख सम्म आयोजना हुने युनिभर्सियाडमा नेपालले फेन्सिङ्ग र तेक्वान्दोमा सहभागिता जनाउने छ । ३० औं संस्करण सम्म आईपुग्दा नेपालले भने पाँचौ पटक सहभागिता जनाउँदै छ ।

टोलीलाई बिदाई गर्दै साँसद भट्टले खेलकुद अहिलेको समाजको निकैनै आवश्यक क्षेत्र भएकोले खेलकुद बिश्वबिद्यालयको स्थापना गर्नु पर्ने बताए । उनले खेलकुद क्षेत्रमा पनि आफ्नालाई च्याप्ने परम्पराका कारण दक्ष विस्थापित हुँदै गएकोले खेलकुदको बिकास हुन नसकेको बताए ।

साँसद भट्टले खेलाडीहरुको भविष्यको सुनिश्चितता नभएका कारण उनीहरुलाई उक्त चिन्ताबाट मुक्त गर्नृ पर्ने बताए । सहभागि हुन जाने खेलाडी तथा प्रशिक्षकहरुलाई आफ्नो खेल कौशलता प्रस्तुत गर्दै राष्ट्रको पहिचान गराउन सुझाव दिँदै सफलताको शुभकामना ब्यक्त गरे ।

नेपाल बिश्वबिद्यालय खेलकुद संघका अध्यक्ष प्रदीप “टेकराज” जोशीको नेतृत्वमा नेपोली जाने टोलीमा उपटोली नेतामा संघका महासचिव पूर्ण ंिसह बोहरा, त्रिभुवन बिश्वबिद्यालयको प्रतिनिधीका रुपमा संघका उपाध्यक्ष ज्ञानेन्द्र प्रसाद पौडेल, तेक्वान्दो प्रशिक्षकमा दीपक बिष्ट, खेलाडीहरुमा सक्षम कार्की नम्रता तुलाधार, पावर्ती गुरुङ्ग, अश्मिता खड्का र उमेश राज भण्डारी रहेका छन् ।

यस्तै फेन्सिङ्गमा ब्यवस्थापकमा मदन कार्की तथा खेलाडीहरुमा ओमकार सिंह, अलिषा सिंह र अनिता कार्की रहेका छन् । यसैगरि राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य एकेन्द्र कुँवर र पत्रकार श्रीबिक्रम भण्डारी रहेका छन् ।

ओलम्पिककै झझल्को दिने ३० औं समर युनिभर्सियाडमा बिश्वका नाम चलेका र ओलम्पिकमा पदक हात पार्ने १७७ राष्ट्रका ८ हजार भन्दा बढि खेलाडीहरुले विभिन्न खेलमा प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले यस अघि ताईवानमा भएको २९ औं संस्करणमा ब्याडमिन्टन, भारोत्तोलन, फेन्सिङ्ग, टेनिस, टेवल टेनिस, एथलेटिक्स र तेक्वान्दोमा सहभागिता जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close