नेपालले हङकङलाई पराजित गर्दै बन्यो च्याम्पियन

पोखरा, २४ असार । नेपालले हङकङलाई हराउँदै एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता–२०१९ को उपाधी हासिल गरेको छ । मलेसियामा मंगलबार भएको फाइनल खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै उपाधी माथि कब्जा जमाएको हो ।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो । यसअघि सन् २०१७ मा मलेसियामा नै भएको फाइनल खेलमा नेपालले हङकङलाई नै ५ विकेटले पराजित गर्दै उपाधी जितेको थियो ।

यस जितसँगै नेपाल यु –१९ एशिया कपमा समेत प्रवेश गरेको छ । श्रीलङ्कामा आगामी भदौ ११ गतेदेखि सुरु हुने एशिया कपमा भारत, पाकिस्तान, आयोजक श्रीलङ्का, बङ्गलादेश, संयुक्त अरब इमिरेट्स (यूएई) र कुवेत सहभागी हुनेछन् । टस हारेर पहिले ब्याटिङ गरेको हङकङले नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको थियो ।

जवाफमा नेपालले १६ दशमलव १ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । नेपालको जीतमा पवन शर्राफले सर्वा्धिक ३९ रनको योगदान दिए । त्यस्तै रित गौतमले १३ रन जोड्दा कप्तान रोहितकुमार पौडेलले १२ तथा खड्कबहादुर बोहोराले ८ रन जोडे ।

बलिङतर्फ हङकङका रौनक कपुरले दुई विकेट लिए भने मोहमद हसन र मोहमद हसन खान एकरएक विकेट झारे । त्यस अघि पहिले ब्याटिङ गरेको हङकङ ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाएर मात्र ९५ रनमा समेटिएको थियो । खराब सुरुआत गरेको हङकङले रनको खाता नै नखोली २ विकेट गुमाएको थियो ।

हङकङका लागि आदित गोरवाराले २४ र काल्हन चल्लुलले १९ तथा रौनक कपुरले १२ रन जोड्ने बाहेका अन्य ८ जना ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । हङकङलाई कमैमा समेट्ने क्रममा नेपालका सागर ढकालले उत्कृष्ट बलिङ गरे ।

दश ओभर बलिङ गरेका ढकालले ५ मेडन राख्दै १८ रन खर्चेर ५ विकेट लिए । त्यसैगरी कमलसिंह ऐरीले ३ विकेट लिँदा कुशल मल्ल र तिलक राजभण्डारीले एक/एक विकेट झारे ।

यसअघि भएको सेमिफाइनल खेलमा नेपाल मलेसियालाई सात विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो भने हङकङले सिंगापुरलाई डिएल पद्धतिका आधारमा ५१ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close