
पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार महिला फुटबलको तीन खेल सम्पन्न भएका छन् ।
स्याङजा वालिङ स्थित मालेबगर फुटबल मैदानमा भएको फुटवलको पहिलो खेलमा सावित्रा भण्डारीको दोहोरो ह्याट्रिको मद्दतमा एपिएफ फुटवल क्लबले सहज जित निकालेको छ । खेलमा एपिएफले प्रदेश नम्बर १ लाई ७–१ ले पराजित गर्दै जित निकालेकोे हो ।
खेलको २३ औ मिनेटमा एपिएफकी सावित्रा भण्डारीले पहिलो गोल गरेकी थिईन् भने लगत्तै खेल सञ्चालन भएको एकै मिनेटमा प्रदेश नम्बर १ की अन्जना थुलुङ्गे राईले गोल गर्दै खेल बराबरीको स्थितिमा पु¥याइन् ।
एपिएफकी सावित्राले खेलको ४० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन भने ४५ औ मिनेटमा तेस्रो गोल गरेर पहिलो ह्याट्रिक पुरा गरिन् । यस्तै सावित्राले खेलको दोस्रो हाफमा ५१ औँ मिनेट र ५८ मिनेटमा चौँथो र पाँचौ गोल गरिन् ६५ औँ मिनेटमा गोल गर्दै दोहोरो ह्याट्रिक पुरा गरिन् । खेलको ६० औँ मिनेटमा एपिएफकी अनिता केसीले छैटौँ गोल गरेकी थिइन् ।
यस्तै शुक्रबार नै भएको दोसो खेलमा गण्डकी प्रदेश विजयी भएको छ । गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३–० गोल अन्तरले पराजित गर्दै जित दर्ता गरेकोे हो ।
खेलको ३३ औ मिनेटमा गण्डकी शान्ती नेपालीले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएकी थिइन् । त्यस्तै खेलको ५८ औँ र ६६ औँ मिनेटमा उदया थापाले दोस्रो र तेस्रो गोल गरिन ।
शुक्रबारको तेस्रो तथा अन्तिम खेलमा मधेश प्रदेश र सुदुरपश्चिम प्रदेश विच प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा दुबै समुहले गोल गर्न नसकेपछि एक–एक अंक बाँडिएको छ ।
