
पोखरा स्पोर्टस । तीन पाकिस्तानी खेलाडी सम्मिलित गण्डकी प्रदेश भलिबल संघको टोलीले सुदुर पश्चिम विरुद्ध सहज जित दर्ता गरेको छ । पोखरामा जारी नवौं पिएम कप एनभिए लिग भलिबल प्रतियोगिताको पाँचौ खेल लगातार जित्दै गण्डकीले करिब-करिव आफ्नो फाइनल यात्रालाई सहज बनाएको हो ।
सुदुर पश्चिम विरुद्ध सहज जित निकाल्ने क्रममा पहिलो सेट २५–१३, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२० ले जित्दै घरेलु मैदानमा गण्डकीले फाइनल यात्रा सुरक्षित रुपमा अघि बढाएको हो ।
यद्यपी भोली (मंगलबार) हेल्प नेपाल विरुद्धको खेलमा गण्डकीले जित निकाल्यो भने फाइनलको यात्रा सुरक्षित हुनेछ । गण्डकी हाल सम्म अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।
फाइनल यात्राका लागि गण्डकी र हेल्प नेपाल बीचको खेल निर्णायक हुने छ । दुबै टोली हाल सम्म अपराजित रहेका छन् । दुबै टोलीमा तीन–तीन जना विदेशी खेलाडी छन् । उनीहरुको प्रदर्शन नै फाइनल यात्रा निर्णायक हुने विश्लेषकहरुले बताएका छन् ।
नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगिता जेठ १५ गते सम्म चल्नेछ । प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन चरणपछि शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।
प्रतियोगिताका विजेता टोलीले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो स्थान हासिल गर्ने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । साथै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागत उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
महिला तथा पुरूष दुवैतर्फ विजेता टोलीले नेपाललाई प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । पुरूषतर्फ काभा क्लब च्याम्पियन्स लिग तीन महिना पछि मालदिभ्समा हुनेछ ।
