आरएस पोखरा झापा महिला गोल्डकपका लागि सघन तयारीमा, पहिलो खेल आर्मीविरुद्ध

पोखरा स्पोर्ट्स । नेपालकै सर्वाधिक राशिको महिला फुटबल प्रतियोगिता ‘एलभिडी प्रथम झापा महिला गोल्डकप–२०८२’ मा उपाधिको बलियो दाबेदारी प्रस्तुत गर्न आरएस पोखरा फुटबल क्लबले झापामा सघन तयारी गरिरहेको छ । प्रतियोगिताका लागि समयमै झापा पुगेको पोखराको महिला टिमले झापाको दमकमा करिब १० दिनदेखि ‘क्लोज क्याम्प’ गर्दै आएको छ।

कात्तिक १७ गते सोमबारदेखि शिवसताक्षीस्थित दुधे रंगशालामा सुरु हुने गोल्डकपका लागि गरिएको आरएस पोखराको तयारीलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ। आरएस पोखराले आफ्नो पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग कात्तिक २० गते भिड्नेछ।

प्रतिस्पर्धा सुरु हुनुअघि नै दमकको हावापानीमा अभ्यस्त हुने र रणनीतिक तयारीलाई अन्तिम रूप दिने लक्ष्यका साथ क्लबले यो क्लोज क्याम्प आयोजना गरेको हो ।

प्रशिक्षणमा विशेष गरी शारीरिक तन्दुरुस्ती र रणनितिमा विशेष जोड दिइएको क्लबले जनाएको छ । आरएस पोखराको यो सघन तयारीले टोलीको आत्मविश्वास बढाउने र उपाधि यात्रामा उनीहरूको दाबीलाई अझ बलियो बनाउने विश्वास गरिएको छ।

प्रतियोगितामा नेपालका तीन विभागीय टिमहरू, संकटा क्लब, चर्च ब्वाइज, झापा एफसी र भारतको एक टोलीसहित जम्मा आठ महिला टिमहरू सहभागीता रहेको छ ।

आरएस पोखराको टोली प्रशिक्षक सुमन श्रेष्ठ र एकराम थापाको नेतृत्वमा रहेको छ भने म्यानेजर प्रज्वल पौडेल रहेका छन् । क्लबका अनुसार प्रशिक्षण उच्च मनोबलका साथ सञ्चालन भइरहेको छ र खेलाडीहरू अनुशासित रूपमा अभ्यासमा समर्पित रहेको आरएस क्लब पोखराका अध्यक्ष रमेश कार्कीले जनाएका छन् ।

प्रतियोगितामा उपाधि विजेताले नगद १० लाख १० हजार, उपविजेताले नगद रु ५ लाख प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले नगद रु १ लाख ५० हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुनेले जनही नगद रु २५/२५ हजार प्राप्त गर्नेछन् ।

आरएस पोखरा टिमको विषयलाई लिएर स्थानियहरु समेत निकै प्रभावित बनेका छन् । नियमित प्रशिक्षणमा रहेको टिमको प्रर्दशनबाट प्रभावित हुँदै केहीले सामाजिक सञ्जालहरुमा जितको शुभकामना समेत दिएका छन् । यूवा महिला खेलाडीहरुको टिमले प्रतियोगितामा उत्कृष्ट छाप छोड्ने आकंलन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close