
काठमाडौं, ५ माघ ।
शनिबारबाट शुरु हुने “१४ औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगित”को सम्पूर्ण तयारी पुरा भएको आयोजकले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
आयोजक ढोरपाटन स्पोर्टस् क्लबका अध्यक्ष मनवीर छन्न्त्यालले प्रतियोगितामा ९ टोलीको सहभागिता रहन जानकारी गराए । उनले न्यु डायमण्डको विषयमा अझै पनि टुङ्गो लागि नसकेको जानकारी गराउदै भने-“न्यु डायमण्डको सहभागिता नरहे ८ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।”
शनिवार नयाँ बसपार्क्स्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा पहिलो खेल मकवानपुर र सेव स्कुल तथा दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र श्री गाँउ खेलकुद बिकास समिति दाङबीच खेल हुनेछ । सेव स्कुलबाट तीन भारतीय खेलाडीले खेल्ने पक्का भएको छ ।
माघ १९ सम्म संचालन हुने डबल लिगमा एपिएफ क्लब, न्यु डायमण्ड एकेडेमी, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समिति पोखरा, त्रिभुवन आर्मी क्लब, चितवन टाइगर्स, श्री गाँउ खेलकुद बिकास समिति दाङ, सेव स्कुल र थाहा नगरपालिका मकवानपुरको सहभागिता रहनेछ आयोजकले जानकारी गराए पनि न्युडायमण्डका प्रिन्सिपल एवंम् प्रशिक्षक कुमार राईले न्युडायमण्डले प्रतियोगितामा नखेल्ने बताए ।
न्युडायमण्डका प्रिन्सिपल एवंम् प्रशिक्षक राईले भने–“न्युडायमण्ड पहिलो संस्करण देखि १३ औं संस्करण सम्म लगातार खेल्ने एक्लो टिम हो, १४ औं संस्करणमा सहभागिता हुन न सक्ने भयौं, दुख लागेको छ ।” उनले फोन मार्फत भने–“अहिले हामी पोखरामा सभामुख कप भलिबल खेल्दै छौ, हाम्रा खेलाडी स्कुल र कलेजमा अध्ययन गदै गरेका छन्, महिला डबल लिग भएकाले प्रतियोगिता लामो समय सम्म संचालन हुन्छ, लगत्तै दिदीबहिनी कप र पिएम कप महिला भलिबलमा सहभागिता हुन्छ, त्यसैले ढोरपाटन महिला डबल लिग नखेल्ने निर्णय गरेका हौं ।”
प्रतियोगिताको दोस्रो चरणको लिगमा ७ टोलीले स्थान बनाउनेछन् । यि टोलीहरुबाट धेरै अंक हात पार्ने टोली लिगको च्याम्पियन बन्नेछ । प्रतियोगिताको विजेताले ३ लाख ५० हजार पाउनेछ दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुनेले १ लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौ हुनेले ४० हजार, छैठौं हुनेले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
त्यसै गरि व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, बर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानि दर्शकले १–१ थान सुजुकी स्कुटर पाउने छन् । त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान ६–६ हजार नगत प्रप्त गर्ने आयोजकले जानकारी दिए । प्रतियोगितामा ५० लाख लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगितालाई रेडबुलले मुख्य प्रायोजन तथा भिजी अटोमोवाइलको सुजुकीसँग ३ वर्षको लागि सह–प्रायोजन गरेको छ । सम्झौतामा प्रत्येक भिजी सुजुकीको स्कुटर खरिदमा ५० हजार छुट हुनेछ । प्रतियोगिताको अनुमाति रकम ५० लाख रहेको छ ।