
पोखरा स्पोर्टस । दोस्रो संस्करणको केपी ओली कप खुल्ला राष्ट्रिय पुरूष टि–२० क्रिकेटको तयारी पुरा भएको छ ।
‘सबैका लागि खेलकुद’ भन्ने नाराका साथ मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगिताको भोली (शनिबार) उद्घाटन हुने छ । प्रतियोगितामा देश भरीका १६ विभिन्न क्लबहरुको सहभागिता हुने भए संगै चैत्र ३० गते सम्पन्न हुने भनिएको प्रतियोगिता २०८२ बैशाख ५ गते सम्म सञ्चालन हुने भएको हो ।
यस अघि एकेडेमीले १२ टिमको सहभागिता हुने जनाए पनि सहभागिताका लागि २९ टिमले नाम दर्ता गराएपछि आयोजकले १६ टिमलाई सहभागिता गराउने जनाएको छ । लिग कम नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको एकेडेमीका गण्डकी प्रदेश अध्यक्ष गिरमान गुरूङले जानकारी दिंदै उद्घाटन खेल शनिबार दिउसो १ बजे स्याङजा क्रिकेट क्लब र पोखरा महानगर क्रिकेट क्लबका बीच हुने छ ।
खेल तालिका अनुसार समूह ‘ए’ मा सिइसी काठमाडौं, हेटौडा एसए, पोखरा महानगर क्रिकेट क्लब र स्याङ्जा क्रिकेट क्लब रहेका छन् । समूह ‘बी’ मा चितवन क्रिकेट क्लब, ग्रेट हिमालय क्रिकेट एसोसिएसन, गण्डकी हिरोज क्रिकेट क्लब र हिमालयन क्रिकेट एसोसिएसन रहेका छन् ।
समूह ‘सी’ मा लुम्बनी खुकुरी क्रिकेट क्लब, मधेश प्रदेश क्रिकेट क्लब, हिमाल फ्रेन्ड क्रिकेट क्लब र कर्णाली एकेडेमी तथा समूह ‘डी’ मा सुन्दर हेरचाह क्रिकेट क्लब, आत्रेय क्रिकेट एसोसिएन, मालपोखरी क्रिकेट क्लब र होरिजोन क्रिकेट क्लब रहेका छन् ।
यस अघि पहिलो संस्करणमा सात प्रदेश र तीन विभागीय क्लबको सहभागिता रहेको थियो । उक्त संस्करण मधेश प्रदेशले जितेको थियो ।
यूवा नव प्रतिभाशाली क्रिकेट खेलाडीको पहिचान एवं खेलाडी उत्पादन हेतु आयोजित प्रतियोगिताको उद्घाटन संघिय सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले गर्ने एकेडेमीका अध्यक्ष एवं राखेपका उपाध्यक्ष ध्रव आचार्यले जानकारी दिए । पोखराको क्रिकेट विकासका लागि प्रतियोगिताले महत्वपूर्ण योगदान पुग्ने बताउँदै अध्यक्ष आचार्यले खेल पर्यटनमार्फत समेत यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने उल्लेख गरे ।
प्रतियोगितालाई सफल बनाउन सबै संग आग्रह गर्दै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष समेत रहेका उनले यूवा खेलाडी उत्पादनमा समेत यसको भूमिका हुने बताए । उनले भने–“अहिले धेरै यूवा खेलाडीहरूलाई यस्तो प्रतियोगिताहरूको खाँचो छ । जहाँ बाट उनीहरूको भूमिका राष्ट्रले प्राप्त गर्न सक्नेछ ।”
प्रतियोगितामा उपाधि बिजेता टिमले नगद रु १० लाख र उपविजेताले नगद ५ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ दि सिरिजले नगद ३० हजार, वेष्ट बलर, बेष्ट व्याटरले जनही नगद रु १० हजार र म्यान अफ दि म्याचले नगद ५ हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न १ करोड ३० लाख खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रवेश निशुल्क गरिएको छ ।
