
पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरिय पुरुष बास्केटबल प्रतियोगिता यहि आगामी जेठ २५ गते बाट सुरु हुने भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकी र कास्की जिल्ला बास्केटबल संघको संयूक्त आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।
जेठ २७ गते सम्म पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा सञ्चालन हुने प्रतियोगितामा प्रदेशका सबै जिल्लाका खेलकुद विकास समितिहरुलाई सहभागिताका लागि पत्रचार गरिएको कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष एवं प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।
“परिषदले आर्थिक वर्ष २०७९/०८० मा सबै खेलकुदहरुलाई प्रदेश र राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न सानो रकम भए पनि विनियोजन गरेको थियो” अध्यक्ष गुरुङले भने–“हामी सोही रकमले प्रतियोगिताको तयारी गरेका हौं ।”
यो प्रतियोगिताले प्रदेशका खेलाडीहरुको पहिचान गर्ने संगै उनीहरुको क्षमता अभिवृद्धि गर्न समेत सहयोग पुग्ने अध्यक्ष गुरुङको भनाई छ । प्रतियोगिता अन्तर्राष्ट्रिय बास्केटबल महासंघ फिवाको नियम अनुसार लिगकम नकआउटका आधारमा सञ्चालन हुने छ ।
प्रतियोगिताको तयारीका लागि कास्की जिल्ला बास्केटबल संघका कार्यसमिति सदस्य विष्णु गुरुङको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।
कास्की जिल्ला बास्केटबल संघले केही दिन यताबाट पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा ट्यालेन्ट हन्ट समेत सञ्चालन गरिरहेको छ । उक्त ट्यालेन्ट हन्टमा ४० जनाको सहभागिता रहेको छ ।
