
पोखरा स्पोर्ट्स । नेपाली युवा टेनिस प्रतिभा दर्शिल श्रेष्ठले हाइनान प्रान्त, चीनमा जारी रोल्यान्ड गारोस जुनियर सिरिज टेनिसमा शानदार जित हासिल गरेका छन् । उनले हङकङका खेलाडीलाई रोमाञ्चक तीन सेटसम्म चलेको प्रतिस्पर्धामा पराजित गर्दै २–१ को नतिजासहित जित दर्ता गरे ।
खेलमा दर्शिलले पहिलो सेट ६–२ ले गुमाए पनि दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै ७–५ ले जित हात पारे । त्यसपछि निर्णायक तेस्रो सेट टाइ–ब्रेकरमा पुगेको थियो, जहाँ दर्शिलले १०–५ को फराकिलो अन्तरमा बाजी मारे ।
यो जितसँगै दर्शिल प्रतियोगिताको अर्को चरणमा प्रवेश गर्न उनले अझै आफ्ना दुई खेलमा लगातार जित हात पार्नु पर्ने हुन्छ । प्रतियोगितामा उनको लगातार दोस्रो जित हो । उनले आफ्ना चार खेलका दुईमा जित र दुईमा हार व्यहोरेका छन् ।
अन्तर्राष्ट्रिय स्तरको जुनियर टेनिसमा नेपालको उपस्थितिलाई मजबुत बनाउने क्रममा दर्शिलको यो सफलता महत्वपूर्ण मानिएको छ । रोल्यान्ड गारोस जुनियर सिरिज उदयीमान टेनिस खेलाडीहरूलाई उच्चस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर दिने प्रतिष्ठित श्रृंखला हो, जसले भविष्यमा ग्रान्डस्लाम प्रतियोगितातर्फ अग्रसर हुने बाटो खल्ने छ ।
फ्रेन्च ओपन जुनियर टेनिसका लागि पहिलो चरणको छनौट रहेको प्रतियोगितामा साउथ एसिया र साउथ इष्ट एसियाका विभिन्न देशका २४ जना खेलाडीहरुले सिरिजमा सहभागिता जनाएका छन् ।
एसिया भित्रका विभिन्न जोनको सिरिजबाट छनौट हुने खेलाडीहरुको अन्तिम छनौट खेल भने जापानमा हुनेछ । उक्त छनौट खेल एसियालीस्तरको हुनेछ ।
चीनमा जारी प्रतियोगिता यहि अगस्त २५ तारिख सम्म सञ्चालन हुने छ ।
