आहा ! रारा गोल्ड कप माघको अन्तिम साता–सदस्य सचिब सिलवाल

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवालले पोखरामा हुने आहा ! रारा गोल्डकप माघको अन्तिम साताबाट आयोजना गर्न प्रस्ताव गरिएको बताउनुभएको छ ।

पोखरामा शनिवार सहारा क्लवका पदाधिकारीहरु संगको भेटमा सदस्य सचिब सिलवालले माघको अन्तिम साताबाट आहा ! रारा गोल्डकप गर्न प्रस्ताव गरिएको पोखरा स्पोर्टसलाई बताउनुभएको हो । उहाँले भन्नुभयो–“मैले एन्फाका पदाधिकारीलाई समेत आहा ! रारा गोल्ड कपको मिती माघको अन्तिम साताबाट आयोजनाका लागि मिति तय गर्न भनिसकेको छु ।”

कोभिड १९ का कारण गोल्ड कप आयोजनाबारे के गर्ने भन्ने बारे अन्योलमा रहेको सहारालाई सदस्य सचिब सिलवालले गोल्डकपको तयारी गर्न सहाराका पदाधिकारीहरु संगको भेटघाटमा आग्रह गर्नु भएको छ । उहाँले भन्नुभयो–“अव रोकिनुपर्ने कुनै अवस्था छैन हामीले स्वास्थ्यका सवै मापदण्ड अपनाएर खेलकुदका गतिविधीलाई अगाडी वढाउन आवश्यक छ ।”

यता सहारा क्लवका अध्यक्ष केशव बहादुर थापाले १९ औं संस्करणको आहा रारा गोल्डकपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) संग माघ २७ देखि फागुन ८ सम्मका लागि मिती तयका लागि आग्रह गरिएको बताउनुभयो । उहाँले भन्नुभयो–“सदस्य सचिवज्यू आफैले यस बारे सहयोग र समन्वय गर्छु भन्नुभएको छ, आशा छ हामीले तय गरेको मितीमा नै गोल्डकप आयोजना गर्छौ ।” कोभिड १९ को समस्या यथावत रहे पनि क्लवले आफ्नो आन्तरिक तयारी भने गरिरहेको अध्यक्ष थापाले बताउनुभयो ।

सदस्य सचिब सिलवालले शनिवारनै पोखरा रंगशालामा प्रशिक्षण लिइरहेका अखिल नेपाल फुटबल संघ कास्की द्वारा पोखरा रंगशालामा सञ्चालित ग्रास रुट लेभलका प्रशिक्षकहरु र बालकहरु संग भेट गर्नु भयो । सो अवसरका राखेपका सदस्य राजेश गुरुङ, वरिष्ठ प्रशिक्षक शम्भु केसी र प्रशिक्षक राजेन्द्र तामाङको समेत उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close