
पोखरा । पोखरामा सञ्चालित फुटसल व्यवसायीहरुको करौडौको लगानी डुव्ने जोखिममा पुगको छ भने फुटसलमा आएर दैनिक प्रशिक्षण र मनोरञ्जन लिने युवाहरु समेत प्रभावित वन्न थालेका छन ।
कोभिड १९ प्रभावका कारण ६ महिना देखि पोखरामा सञ्चालित फुटसलहरु खोल्न नसक्दा यसमा लगानी गर्ने व्यवासायीहरुले भाडा र वैंकको व्याज समेत तिर्न नसक्ने अवस्थामा पुगेको भन्दै पिडा पोख्न थालेका छन भने अर्को तर्फ यहाँ आएर आफ्नो समय विताउने र खेल तर्फ आफूलाई व्यस्त राख्ने युवाहरुमा समेत नकारात्मक भावना शुरु भएर कुलतमा फस्ने हुन की भन्दै चिन्ता व्यक्त गर्न थालेका छन ।
पोखरामा सञ्चालित २३ वटा फुटसल गत चैतवाट नखुलेका कारण लगानी समेत जोखिममा पर्न थालेको छ भने नयाँ खोल्न तयारीमा रहेका ४ वटा फुटसलहरु समते अव कसरी सञ्चालन गर्ने भन्दै प्रश्न गर्न थालेका छन । जिल्ला प्रशासन कार्यालय कास्कीले फुटसल खेललाई समेत कोभिड सङक्रमणका लागि जोखिम हुने स्थानमा राखेर सञ्चालनमा रोक लगाए पछि यसमा लगानी भएको करिव ५० करोड समेत जोखिममा परेको व्यवसायीहरुले बताएका छन भने यि फुटसलमा दैनिक आउने करिव ५ हजार युवाहरु यति वेला घरमा नै वस्न वाध्य छन ।
पोखरा वडा नं १४ चाउथेमा गत २०७६ माघबाट फुटसल सञ्चालन शुरु गरेको गणेश क्षेत्रीले डुब्ने अवस्थामा रहेको बताए । नेपाली सेनाका अवकास प्राप्त सेनानी समेत रहेका क्षेत्रीले १ करोड ५० लाखको लगानीमा फुटसल शुरु गरेको बताउँदै भने–“सरकारले फुटसललाई अत्यावश्यक सेवा भित्र नराख्दा लगानी डुव्ने मात्र नभई राष्ट्रलाई चिनाउने खेलाडी उत्पादनमा समेत समस्या आएको छ ।” “फुटसल भनेको राष्ट्रका कर्णधार जन्माउने थलो समेत हो, यो कुरा राज्यले राम्रो सँग वुझ्न आवश्यक छ”, उनले जोड दिँदै भने ।
राज्यले खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण र वुझाईको कमिले फुटसलहरुलाई निषेधित गरिएको बताउँदै कास्की फुटसल व्यवसायी संघका अध्यक्ष समेत रहेका क्षेत्रीले राज्यले नै व्यवसायीलाई पिडामा राखेर घर न घाटको स्थितीमा पुर्याएको बताए । “राज्य आफैले लगानी गरेर यस्ता खेलकुदका पुर्वाधार निर्माण गर्नुपर्ने ठाउँमा निजी व्यवसयासीले लगानी गरेको समेत डुव्ने स्थिती आएको छ”, उनले भने । राज्यले फुटसल व्यवसायमा भएको लगानी जोगाउन सकारात्मक भुमिका प्रदान गर्न र तथा विशेष ध्यान दिन पनि उनले आग्रह गरे ।
त्यस्तै पोखराको वडा नं ४ मा पोखरा क्यासल सञ्चालन गर्ने फुटबलका समेत पूर्व राष्ट्रिय खेलाडी रहेका चन्द्र गुरुङ (इश्वर)ले आफ्नो ६ करोडको लगानी डुव्न थालेको बताए । “हामीले प्रशासनलाई धेरै पटक घच्घच्यायौं, आफ्ना स्टाफ मात्रै होइन अव त परिवार पाल्न समेत धौ–धौ पर्न थालिसक्यो,” उनले भने–“खेलाडीको इम्युनिटी पावर वढाउन र शारिरिक व्ययामले कोभिड सँग लड्न सक्ने क्षमता वढाउने फुटसललाई वन्द गर्नु हुँदैन ।” राज्यले आफ्नो गरिखाने वाटो नै वन्द गर्दा लगानी डुवे सँगै वैंकको व्याज र भाडा तिर्न समेत यति वेला निकै सकस पर्न थालेको उनको भनाई छ ।
राज्यले निर्देश गरे अनुसार आफुहरुले ६–७ महिना देखि व्यवसाय वन्द गरेर वस्नु परेको पिडा पोख्दै गुरुङले भने–“कम्तिमा पनि स्वास्थ्यका प्रोटोकल लागु गर्दै फुटसल सञ्चालन गर्न दिए धेरै राहत हुने थियो ।” सामाजिक दुरी कायम गर्दै फुटसल सञ्चालन गर्न दिए पनि वैंकको व्याज तिर्न, स्टाफको खर्च पुर्याउन निकै सहज हुने उनको तर्क छ ।
पोखराको लेकसाइडमा डेढ वर्ष देखि फुटसल सञ्चालन गर्दै आएका विनोद गुरुङ जग्गा लिजमा लिएर सञ्चालन गरेका व्यवसायीहरु निकै मर्कामा परेको बताए । उनले भने–“चाहे लिजमा लिएर सञ्चालन भएका फुटसल हुन वा वैंकबाट ऋण लिएर सञ्चालन फुटसल सञ्चालन गर्ने व्यवसायी सबै यति वेला समस्यामा परेका छन ।”
फुटसल वन्द हुँदा धेरै युवाहरु कुलतमा फस्न थालेको बताउँदै नेपाल फुटसल संघका उपाध्यक्ष समेत रहेका उहाँले पोखरामा सञ्चालन हुन लागेको राष्ट्रिय फुटसल लिग समेत आयोजना हुन नसकेको बताए । उपाध्यक्ष गुरुङले केही न केही उपाय अवलम्वन गरेर फुटसलहरु सञ्चालन गर्न दिन र युवाहरुको आर्कषणको रुपमा रहेको फुटसल खेल जोगाउनका साथै व्ययसायीको लगानी डुव्नबाट जोगाउन सरकारलाई आग्रह समेत गरे ।
पोखरामा फुटसल सञ्चालन गर्दै आएका सुविन श्रेष्ठले पोखराको फुटबल विकासका लागि सहयोग पुग्ने फुटसल वन्द हुँदा खेलाडी सँगै व्यवसायीहरु पनि मर्कामा परेको बताए । पोखरा हेम्जामा फुटसल सञ्चालन गर्दै आएका उहाँले ६० युवाहरु आफ्नो फुटसलमा दैनिक आउने गरेको भए पनि लामो समय वन्द हुँदा युवाहरुले गर्ने प्रशिक्षणमा समेत नराम्रो सँग प्रभावित भएको उनले बताए ।
अहिले फुटसल वन्द हुँदा समेत फुटसलको मेन्टेनेन्समा समेत निकै खर्च हुने र त्यही खर्च समेत धान्न समस्या परिरहेको बताउँदै श्रेष्ठले विगतमा ५ जनालाई कोभिड सङक्रमण हुँदा समेत आफुहरुले ३–३ महिना वन्द गरेर वसेको बताए । उनले भने–“स्वास्थ्यका विधी अपनाएर खोल्न पाए निकै सहज हुने थियो, खेलकुदका दृष्टिकोणले मात्र्रै होइन कोभिड विरुद्ध लडन र इम्युनिटी पावर बढाउन फुटसल निकै महत्वपुर्ण छ ।” उनले सरकारलाई आफ्नो डुब्न लागेको व्यवसायको संरक्षण गर्न आग्रह गर्दै अव कुनै न कुनै उपाय अपनाउँदै फुटसललाई यथावत रुपमा खोल्न दिन माग समेत गरे ।
